शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काेराेना भाइरसका कारण हेटौंडाका उद्योग अधिकांश बन्द

दैनिक नेपाल २०७६ चैत १६ गते ७:००

मकवानपुर, १६ चैत । कोरोना भाइरसकाे संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करीब ८० प्रतिशत उद्योग बन्द भएका छन् ।

सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योगहरू पनि बिहानीसत्रमा मात्र चालु छन् ।

बजारको मागमा आएको कमी र तेस्रो मुलुकबाट ल्याउनुपर्ने कच्चा पदार्थको आयात ठप्प भएसँगै उद्योगहरुले आफ्नो उत्पादनमा कटौती गर्दै लगेका छन् ।

कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन् ।

हेटौंडा–९ मा रहेको औद्योगिक क्षेत्रमा रहेका एक सय ११ उद्योगमा करिब पाँचहजार मजदुर कार्यरत छन् । सञ्चालनमा रहेका सबै उद्योगले कोराना संक्रमणलाई मध्यनजर गर्दै आउजाउ गर्ने सबैको गेटमै शरीरको तापक्रम नाप्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित