शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना भाइरस : बनको बाघ होइन, मनको किन बनाउने ?

रिना भट्ट २०७६ चैत १५ गते १०:४९

-रिना भट्ट

इच्छाशक्तिले अनेक संकटको सामना गर्नका लागि उत्प्रेरणा दिन्छ । यो उत्प्रेरणा मानसिक मनोबलसँगै शारिरीक शक्तिका रुपमा स्थापित हुन्छ । जसको परिणाम मानव शरिरमा रहेका नकारात्मक प्रभावसँग स्पर्धा गरी सकारात्मक प्रभावलाई प्रतिस्थापन गर्ने ठूलो गुण मानिन्छ । त्यसैले त अध्यात्ममा विश्वास गर्नेहरु रोगसँग होइन, मनोरोगसँग लड्न सक्नु नै जीत ठान्छन् ।

मान्छेले शक्ति त्यतिबेला गुमाउँछन् जतिबेला इच्छाशक्ति गुम्छ । मानिस आत्महत्या किन गर्छ होला ? मेडिकल साइन्सले मान्छेभित्र बाँच्ने चाहनाको मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन् । त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने इच्छाशक्ति हराउँदै जाँदा निधन अधिक नजिक हुन्छ ।

यसलाई डरको एउटा प्रारुप मानिन्छ ।

डर नै सबैभन्दा ठूलो भाईरस हो जसले रोगको भाईरसले भन्दा बढि मानिस लाई दुःख दिन्छ । उदाहरणको लागि प्राचीन कालदेखि जब जब युरोपका शहरहरूमा महामारी फैलन्थ्यो सो समय त्यहाँका धर्मगुरुहरूले शहरको रक्षाका लागि  सीमानामा बसेर रोग बिरूद्ध पुजा आजा गरेर रोगको रोकथाम गर्थे रे । त्यस्तै समयमा एक पटक ’महामारी’ शहर भित्र प्रबेश गर्न खोजेछ । यस्तो अबस्थामा धर्म गुरुहरूले रोग शहरको भित्र प्रबेश गर्नु भन्दा पहिले बाटोमै रोकेर तिमीले कति जनालाई लिएर जान्छौ भनेर प्रश्न गरेछन् । रोगले भनेछ, म एक्लै छैन मसँग मृत्यु र भय दुई साथीहरु नी छन् । म सँगै आएका मृत्यु र भयलाई पनि सोधपुछ गरे मात्र म भन्छु, रोग ले भनेछ ।

यो सुनेर धर्म गुरुहरूले हुन्छ भनेपछि, रोगले म यति मान्छे रोगी लग्छु भनेछ । यो पश्चात मृत्युलाई  धर्मगुरुहरूले प्रश्न गरेछन् । मृत्युले  म रोगले लगेको मध्ये रोग लागेको आधालाई लग्छु भनेछ । त्यसपछि ’भय’को पालो आएछ ’भय’ ले चै म कसैलाई लग्दिन भनेछ । यो सुनेपछि रोग मृत्यु भय तीन जनालाई नै शहर भित्र प्रबेश गराइएछ ।

विश्व स्वास्थ्य संगठनले पनि भनेको छ जति खुशी बन्नुहुन्छ, त्यति प्रतिरोध क्षमतामा कमजोरी हुने छैन । यसर्थ, स्वस्थ्य रहन केही त मनन् गरौं । कोरोना भाइरस बनको बाघ होइन, यसलाई मनको बाघ नमानौं

जब शहर भित्र महामारी फैलिएपछि  रोगले आफूले भनेको जतिलाई लगेछ । मृत्युले नी आफ्नो वाचाअनुसार रोगले लगेको भन्दा आधा मानिसलाई लगिरहेको रैछ तर भयले चै रोग र मृत्युले लगेको भन्दा बढिलाई लगेर गईरहेको देखेर धर्मगुरूहरूले ’भय’लाई रोकेर सोधेछन्, तिमीले त कसैलाई लग्दैन भनेको होइन फेरि सबैभन्दा बढिलाई तिमीले किन लगेको ? यो प्रश्न सुनेर भयले भनेछ, मैले यिनीहरूलाई लगेको होइन यिनीहरू नै आफै मेरो पछिलागेर आएका हुन् ।

तसर्थ भय त्यस्तो चिज हो जसले हामीलाई नजानिदो किसिमबाट रोग को मुखमा पुराउन मद्दत गर्छ जसले सजिलै मृत्युको नजिक पुराउँछ ।

आज पनि यस्तै समयको सृजना बिश्वभरी नै भैरहेको छ । आज त्यहि भय वा डर सबैभन्दा बढि हामी माथि हावी भैरहेको छ । यस्तो समयमा हाम्रो सोचले जीवनमा ठूलो असर गरेको पाइन्छ तसर्थ सोचलाई सकारात्मक बनाउदै जीवन लाई सुखी र खुशी बनाउनु नै आजको सबैभन्दा ठूलो आबश्यकता हो । आज यस्तो परिस्थितिको सृजना भएको छ जसले विश्वको हरेक मनलाई डरले प्रभाब पारेको छ ।

परिस्थिति कोरोना भाईरस हो जसको कारण चिन्ता र भयले हरेक मनलाई खाइरहेको छ। परिस्थितिले मनको स्थिति बनाएको भन्दा पनि मनको स्थितिले परिस्थिति बनाएको आज देखिँदैछ जुन हुनुमा सबैभन्दा महत्वपूर्ण हात भनेको टेक्नोलोजीको फरक प्रभाव मान्नुपर्छ ।

टेलिभिजन, सामाजिक संजालहरू र पत्रपत्रिका इत्यादिको भुमिका महत्वपूर्ण हो। हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौं, सुनीरहेका छौं अनि सेयर गरिरहेका छौं जसले रोग र मृत्यु भन्दा पनि भयलाई बढि सहयोग गरेको छ ।

यहाँ कोरोना भाईरस भन्दा डरको भाईरसले मानब जातिको शरीरमा नोक्सानी सुरू गरिसकेको छ । यो भाइरस अफ फियर सबैभन्दा महत्वपूर्ण रोग हो जसले मलाई मेरो घर परिवारलाई मेरो राष्ट्रका तीन करोड नेपालीलाई मात्र नभएर बिश्वको सात आठ सय करोड जनसंख्यालाई नै जकेडेर राखेको छ ।

यो डर नै समस्याको जड हो । डाक्टर भन्दैछन्, डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई  घटाउँछ । रोग प्रतिरोधात्मक क्षमता उमेरले होइन मनले तय गर्दछ भन्ने कुरा हाम्रो सम्मानीय प्रधानमन्त्रीले नै प्रमाणित गरिसकेको अबस्थामा हामीले आफूलाई बुझाउन सजिलै सक्छौं । यस्तो अबस्थामा आज सारा बिश्वका मानिसहरु घरमा बसेर टेलिभिजन च्यानल र सामाजिक संजाल मार्फत कोरोना भाईरसकै समाचार हेरेर मृत्यु आदिबारे नकारात्मक सूचनामार्फत आफ्नो शरीरमा डरको नकारात्मक प्रभाव पारिरहेको अबस्था छ ।

दिनभरको नकारात्मक समाचारले हाम्रो सोचमा नै डर त्रास फैलिएको छ । सूचना संप्रेषण गर्नेले रोग नफैलोस भनेर दिनु राम्रो काम हो जसलाई नकारात्मक कुरा भन्न सकिन्न तर त्यो सूचनालाई डर त्रासको रूपमा चौबिसै घन्टा हेरेर लेखेर र सेयर गरेर पटक पटक दिनु साच्चिकै नकारात्मक प्रभाव वा असरलाई आफूप्रति आकर्षित गर्नु हो ।

अर्थात् सधैं मोटरसाइकल र कार दुर्घटनाको भिडियो हेर्दा हेर्दा र मरेको मान्छेको कुरा सुन्दा सुन्दा हाम्रो मगजमा यस्तो नकारात्मक प्रभाव पार्छ की त्यसले गर्दा हामीले बाटोमा गाडि कुनै हालतमा चलाउन सक्दैनौ । हामीलाई भयले यस्तो जकेडेर राख्छ जसको कारण हाम्रो मगजमा एनजाइटि सृजना भएर स्वत नै दुर्घटना हुन सक्छ । तसर्थ नकारात्मक सोचको प्रभाव पनि नकारात्मक नै  हुन्छ। यो बम्हाण्डको नियम नै हो। प्रत्येक दश दश मिनेटमा मोबाइल टिभीमा हाम्रो शुभचिन्तकहरूले शुभ भावनाले रोगबाट बच्ने सन्देश पठाई रहेका हुन्छन् जुन साच्चिकै हामीलाई आवश्यक नै छ त?

दिनमा १५मिनेट समाचार सुनौ जानकारीको लागि तर हरेक १५ मिनेटमा समाचार सुन्ने त्यसको पिकचर हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पुरै शारीरिक शक्ति रोग मृत्यु र भयमा मात्र सीमित भै रह्यो भने त्यसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि त्यो रोगले सजिलै आक्रमण गर्न सक्छ ।

हाम्रो आन्तरिक शक्तिलाई डर र त्रासले नास गर्ने छ। जसको कारण कोरोना जस्तो नकारात्मक तत्वलाई सजिलै आकर्षण गर्छ। तसर्थ नकारात्मक तत्वलाई समाप्त गर्ने एक मात्र उपाय सकारात्मक सोच  राख्नु हो । यसले यो भाइरस छिटै हराउँछ हामी नेपाली र नेपाललाई दुःख दिँदैन । हामी भाईरससँग लड्न सक्छौ भन्ने सकारात्मक सोच मात्र सकारात्मक परिणामको एउटा प्रमुख उपाय हो ।

यसर्थ, कोरोना भाइरसका सन्दर्भमा त्यति गहिरो धारणा बनाउन आवश्यक छैन । विश्व सूचांक हेर्दा पनि यो साधारण हो, खानपानदेखि अनेक विषयमा ध्यान दिए यसको आक्रमणले मान्छे मरिहाल्ने वा सक्कि हाल्ने पनि होइन । आत्मबल बलियो भएका मानिसको शारिरीक रुपमा प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसलाई लडाउने वा खुत्रुक्क पार्ने चिज नै बलियो प्रतिरोध क्षमता हो । त्यसका लागि त्रास र डररहित सुरक्षित बसोबास हो । विश्व स्वास्थ्य संगठनले पनि भनेको छ जति खुशी बन्नुहुन्छ, त्यति प्रतिरोध क्षमतामा कमजोरी हुने छैन । यसर्थ, स्वस्थ्य रहन केही त मनन् गरौं । कोरोना भाइरस बनको बाघ होइन, यसलाई मनको बाघ नमानौं ।

(लेखिका पाटन क्याम्पसकी राजनीतिशास्त्र प्राध्यापक हुन्)

प्रतिक्रिया
सम्बन्धित