बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई कसरी सघाउने ?

विश्वविनोद २०७६ चैत १३ गते १७:४९

—विश्वविनोद
काठमाडौँ । थोमस अल्बा एडिसन जब सानोकक्षामा पढ्दै थिए, त्यति बेलाउनले दिमागले पढाएको कुरा टिप्न नसक्ने व्यहोराको चिठी उनको आमालाई पठाईयो । आमाले थोमसलाई पढ्नको लागि प्रतिबन्ध लगाएको कुरा भनिन् ।

उनले थोमसलाई उनको पढाईको स्तर विद्यालयमा अरुको भन्दा निकै राम्रो भएको र विद्यालयको पढाउने क्षमताभन्दा तेज भएकोले घरमै बसेर आफैँ पढ्न सुझाव दिएको उल्लेख गरिन् । त्यस दिनपछि थोमस घरमै बसेर स्व अध्ययन गर्न थाले । पछि तिनै मानिस वैज्ञानिकको रुपमा विश्व प्रसिद्ध भए ।

कुनै बेला बेन कार्सन र उनका भाई पढ्नमा निकै कमजोर थिए । उनीहरुमा बोध क्षमता निकै कमजोर थियो । विद्यालयले पढाएको कुरा नबुझेपछि, उनकी आमाले छोराहरुलाई कसरी पढाईमा लगाउने भनेर उपायहरुको खोजी गर्न थालिन् ।

अन्त्यमा उनले आफ्ना छोराहरुलाई भनिन्, हेर बाबु हो, तिमीहरु नियमित टिभी हेर्ने हो भने मेरो एक शर्त छ, तिमीहरुले हाम्रो घर अगाडी रहेको पुस्तकालयमा गएर केही न केही पढ्नु पर्छ अनि मलाई बताउनु पर्छ ।

कार्सनले टिभि हेर्नको लागि भएपनि आमाको त्यो प्रस्तावलाई स्विकार गर्न बाध्य भए । वरिपरिका छिमेकीले बालबालिकालाई जवरजस्ती पढ्न लगाएकोमा प्रहरीमा खबर गरिदिने धम्कि पाउँदा समेत कार्सनकी आमाले कुनै ध्यान दिईनन् ।

कार्सनले नियमित पुस्तकालयमा गएर आफ्ना रुचिका पुस्तक छानेर पढ्ने अनि आमालाई घरमा गएर सुनाउन थाले । यसको नतिजा केही समयमा नै देखिन थाल्यो । उनी कक्षाको अब्बल विद्यार्थीको रुपमा देखा पर्न थाले । पछि गएर उनी शल्य चिकित्सक बने, ति तिनै चिकित्सक थिए जसले जुम्ल्याहा दिदीबहिनीको मस्तिष्कको शल्यक्रिया गरेका थिए ।

माथिका दुई सत्य कथाबाट प्रमाणित हुन्छ, बालबालिकाको पढाईमा अभिभावकले ध्यान दिने हो भने बालबालिकको अध्ययनशील बानीमा परिवर्तन ल्याउन सकिन्छ । यति बेला हाम्रो देश कोरोनाको कारण आक्रान्त छ ।

यस्तो अवस्थामा अभिभावकको महत्वपूर्ण भूमिका रहने कुरालाई नकार्न सकिदैँन । एजुकेशन इन फिगर्स २०१७ एट ए ग्ल्यान्सका अनुसार कक्षा १ देखि १२ सम्म ७३ लाख ९१ हजार ५ सय २४ जना बालबालिकाहरु अध्ययनरत रहेको तथ्यांक छ ।

यति धेरै बालबालिकालाई थप शैक्षिक क्रियाकलाप नहुँदा अभिभावकलाई बालबालिकाको पढाई प्रति चिन्ता हुनु स्वभाविक हो ।

यति बेला हिँडडुल गर्न, दैनिकी र दिनचर्या प्रभावित भएपनि बालबालिकाहरुको सिकाई ओझेलमा पर्न सक्छ । अधिकांश बालबालिकाहरु विद्यालय बन्दको बेलामा यु ट्युब हेर्ने मोबाईलमा खेल खेल्ने जस्ता क्रियाकलाप गरेको देख्न सकिन्छ ।

बालबालिकालाई सामान्य अवस्थामा पनि निकै ख्याल गर्नु पर्ने हो तर कोरोनाको कारण भयग्रस्त हुँदै गएको यो बेलामा बालबालिकाको भय र त्रासलाई पर राख्ने अनि सिकाईमा ख्याल गर्नु जरुरी देखिन्छ ।

बालबालिकाहरुको सिक्ने उमेर हो यो । तर यो बेला उनीहरुलाई बन्द कोठामा राखेर सिकाईलाई बन्द गराउनु भन्दा व्यस्त गराउनु पर्छ । यसका लागि केही उपयोगी कुरा तल उल्लेख गरिएका छन् ।

व्यक्तिगत सरसफाई सिकाउने बेला

बालबालिकको उमेर नै सिकारु उमेर हो । बालबालिककाहरु जिज्ञासु स्वभावका हुन्छन् । यति बेलाबालबालिकामा हात धुने बानीको विकास भइसकेको हुँदैन ।

यति बेला बाबुनानीलाई हातमुख धुन सिकाउने बेला हो । उमेर अनुसार नङ काट्न, कपडामा आईरन लगाउन, कपडा पट्याउन सिकाउने, साना साना कपडा धुन सिकाएर स्वावलम्बन बन्ने सीप सिकाउन सकिन्छ ।

घर वरपर सरसफाई राख्न सिकाउने, भान्सामा आफूले सरसफाई गर्दै गर्दा सहभागितात्मक तरिकाले उनीहरुलाई भान्छाको सरसफाई गर्न पनि सिकाउन सकिन्छ ।

अझै पनि हाम्रा बाबुनानीले हाछ्युँ गर्दा रुमालले मुख नछोप्ने, नाक वा मुखमा बारम्बार हात र औंला लगिरहेको हुन सक्छन् ।

यो झन कोभिड १९ कोरोनाको लागि नकारात्मक कुरा हो । तसर्थ नाक मुखमा हात वा औंला लगाउन हुँदैन र लगेपछि हात मुख धुनु पर्छ भन्ने बानीको विकास गराउन सकिन्छ ।

चित्रकलावा रंग भर्ने काम

बाबुनानीलाई व्यस्त राख्न चित्रकला पनि एउटा उपयुक्त माध्यम हुन सक्दछ । उनीहरूको रूचिअनुसारको फलफूल, तरकारी र जनावरहरूलाई रोजाईमा पारेर स्केच कोर्न सिकाउँदै त्यसमा रंगहरू भर्न दिन लगाउन सकिन्छ ।

साथसाथै एक एक गरि रगंहरूको महत्व पनि बुझाउन सकेको खण्डमा अतिरिक्त ज्ञान पनि बढाउन सकिन्छ । जस्तै रातो रंगले साहस, पहेलो रंगले धर्म र आध्यत्मिक, हरियो रंगले शीतलता र जीवनशक्ति, नीलो रंगले शान्ति, कालो रंगले स्वार्थ, सेतो रंगले शु्ध्दता र पवित्रता जनाउँदछ भन्छन् चित्रकार बाबु साईला ।

घर भित्र खेलिने खेल

घर बाहिर जान नपरेको बेला विभिन्न घर भित्रै खेलिने खेल उनीसँग खेलेर, खेलाएर समय बिताउन सकिन्छ । क्यारमबोर्ड, चेस, चाईनिज चेकर, बाघ चाल, स्किपिङ, ह्याङम्यान, चित्रका टुक्रा मिलाउने (पिक्सनरी), बिंगो, कोठेपद भर्ने, डोमिनो मिलाउने, लुकामारी, ट्रेजर हन्ट खेल, तातो आलु, योग, लुडो, लगायतका खेल उपयुक्त हुन्छ ।

खेतबारीको काम, घर भित्रको काम

अभिभावकले आफूसँगै बाबुनानीले गर्न सक्ने कामसिकाउन सकिन्छ । बाबु नानीलाई खाना कसरी पकाउने, के के हालेर तरकारी कसरी पकाउने सबै सीप सिकाउँदा अभिभावकले आफू खाना पकाई रहँदा बाबुनानीलाई भुलाउन सक्छन् भने जिवनपर्यन्तको सीप सिकाउन पनि सक्छन् ।

बालबालिकामा गरिएका विभिन्न अध्ययनकाअनुसार खाना पकाउँदै गर्दा कति पानी हाल्ने, कति नुन बेसार हाल्ने जस्ता कुरा सिकाउने, बालबालिकालाई भाँडाकुँडा गन्न लगाएर गणितीय ज्ञान सिकाउन सकिन्छ भने, ठूलो सानो भाँडा मिलाएर राख्न लगाउने, रंगको अवधारणा सिकाउने, तातो चिसोको अवधारण सिकाउन पनि सकिन्छ ।

हामीले बालबालिकालाई नैतिक शिक्षा, आचरण र व्यवहारका कुरा सिकाउनु जरुरी छ, जसले बालबालिकाको बाँकी जीवनको मार्गलाई सफल बनाउन सहयोग गर्छ ।

बालबालिकालाई कथा पढ्ने, सुनाउने र कथा भन्न लगाउने

बालबालिकालाई यो बेला घरमा भएका विभिन्न पुस्तकहरुबाट कथा वाचन गर्ने र बालबालिकालाई कथा पढ्न लगाउन सकिन्छ भने अभिभावक आफैँले मौखिक कथा वाचन गर्ने र बालबालिकालाई पनि नयाँ कथा भन्न लगाउन सकिन्छ ।

यो क्रियाकलापले उनीहरुमा श्रृजनशीलता र कल्पनाशक्तिको विकास गराउँछ । तर अन्धविश्वास झल्काउने, रक्तपातयुक्त कथा वाचन गर्न हुँदैन यसले बालबालिकाको आत्मबललाई कमजोर बनाई हिँसाजन्य मनोविज्ञान थोपर्न सक्छ ।

बालबालिकाको मोबाईल चलाउने बानीलाई सकारात्मक तरिकाले परिवर्तन गरौँ 

बालबालिकाले मोबाईल चलाउन खोज्नु स्वभाविक हो, तर यही मोबाईल चलाउने बानीलाई पढ्ने बानीको रुपमा विकसित गराउन सकिन्छ । अहिले नेपाली भाषामा नै विभिन्न वेभसाईटमा निशुल्क रुपमा किताब पढ्न पाईन्छ ।

तिनै वेभसाईटको भरपुर प्रयोग गरेर उनीहरुलाई पढाईमा लगाउन सकिन्छ । यसको लागि www.pustakalaya.org, www.ptathambook.org मा प्रशस्त पुस्तकहरु पाईन्छन् । साथै गुगलप्ले स्टोरमा गएर लेट्स रिड भन्ने एप्लिकेसन डाउनलोड गरेपछिे किताबहरु पढ्न र डाउनलोड गर्न सकिन्छ ।

सधैँको व्यस्तताको कारणले, अभिभावकले बालबालिकालाई समय दिन भ्याइरहेको हुँदैनाैँ । सँगै बसेर समय दिन पाउँदा समयको सदुपयोग गरौँ ।

चुट्किला भन्ने, गीत गाउने, पारिवारिक बैठक बसेर सुख दुखका कुरा आदानप्रदान गर्ने, बालबालिका आफैंलाई नियमित तालिका बनाउन लगाएर कार्यान्वयन गराउन गर्दा बालबालिका आत्तिदैनन् ।

अभिभावकले प्रेरणादायी जीवनकथा उनीहरुलाई सुनाउने, गाउँखाने कथा, हाजिरी जवाफ जस्ता क्रियाकलाप गर्न सक्छन् । जसले उत्साह, हौसला पुर्याउन सक्छ ।

यो बेलाबालबालिकालाई प्रेरणा, हौसला र प्रोत्साहनको आवश्यकता छ, उनीहरुको मनोभाव बुझ्नु पर्ने बेला पनि हो यो । तसर्थ बालबालिकालाई ध्यान दिऔँ, बालबालिकाको कुरा सुनौँ ।

प्रतिक्रिया
सम्बन्धित