शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भुईमा क्रान्ति

सिद्धिचरण भट्टराई २०७६ फागुन २८ गते ९:४६

सिद्धिचरण भट्टराई

किन ठूला क्रान्ति भए पनि भुईमा बस्ने तल्लो मानिस लाभग्राही हुँदैन ? किन माथि भएको क्रान्तिको प्रभाव तल पुग्न समय लाग्छ ? किन राजनीतिक घटनाक्रमले सत्ता बदलिँदैमा बदल्ने एजेण्डाहरू कार्यन्वयनमा पुग्दैनन् ? बारम्बार फरक ढंगले प्रतिक्रान्ति दोहोरिन्छ । देशका शासकीय संरचनामा सुधार वा परिवर्तन चाहने दलहरूको संरचना स्थायित्व र संस्थागत सांस्कृतिक विकास किन हुँदैन ? क्रान्तिमा होमिने खास मानिस लाभ लिने बेलामा पुछारमा हुन्छ तर क्रान्तिको आभा दन्केपछि लहसिएर छाला जोगाउन क्रान्तिकारी बनेको अगुवा सबै ठाउँमा हर्ताकर्ता हुन्छ ? यसबारे सामाजिक विज्ञान के भन्छ ?

वीपी कोइरालाको एउटा भनाई कांग्रेसका गाउँघरका क्रान्तिमा होमिएका नेताहरूले दोहोर्याउँछन् – क्रान्तिपछि सुकिला मुकिलाहरूले पार्टी कब्जा गर्नेछन् त्यसका बिरुद्ध वर्गीय मानिसहरूले एक पल्ट फेरि बिद्रोह गर्न पर्नेछ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई धार एमाले र माओवादी सत्ताको अनुभव लिएर परिक्षित पार्टी हुन् । तिनका भुइँ तहका कार्यकर्ताको वा इमान्दार कर्तव्यनिष्ट कार्यकर्ताको हालत विगतमा के थियो ? अहिले के हुँदैछ ? । मलाई लाग्छ वीपीले अनुमान गरेको अवस्था यी तीनै पार्टीका कार्यकर्ताले बेहोरेका छन् र बेर्होर्दै छन् । तर वीपीले भने जस्तो सुकिला मुकिलाका बिरुद्ध बिद्रोह जागेको महसुस हुन सकेको छैन । सायद वीपीले देशको सामाजिक मनोविज्ञान केलाएरै यसो भनेका थिए ।

अहिले सत्ताधारी नेकपाकै हालत हिजोको सत्ताधारी कांग्रेसको भन्दा बिल्कुल फरक छैन । हिजो भर्खर सहिदको रगतले लत्पतिएको माओवादी सत्तामा पुग्दा पनि उसले त्यो अनुभूती कार्यकर्तालाई दिन सकेन । त्यहाँ पनि तस्कर, दलाल र माफियाहरूको दलदलमा पार्टी फस्दै गएको अनुभूती कार्यकर्ताले गरेका थिए । आज नेकपाको हालत पनि ठीक त्यस्तै छ । ००७ सालदेखि पटक–पटक क्रान्ति र प्रतिक्रान्ति भए । क्रान्ति पछि बारम्बार किन यो पुनरावृत्ति भएको छ ? मैले माथि देखि गहिरोगरी चर्चा गर्न खोजेको बिषय हो ।

क्रान्तिलाई संस्थागत गरिएन

माथि–माथि संविधानमा केही संस्थागत व्यवस्थापन गरे पनि राज्यको सबैभन्दा तल्लो इकाई भनेको परिवार र परिवारहरू मिले बनेको समाज हो । त्यो तहमा क्रान्तिलाई संस्थागत गरिएन । अथवा तल बर्ग संघर्षलाई, संघर्षशील मानिसहरूलाई, आम जनसमुदायलाई गोलबन्द गरेर क्रान्तिका उपलब्धीको रक्षा र विकास गर्दा स्वयं परिवार र समाजको रक्षा र विकास हुन्छ भन्ने बुझाउन सकिएन र त्यस्तो योजना तल लैजान सकिएन ।

पार्टीले विचार निर्माण गर्दा नै जनताको तहबाट निर्माण गरेको छ भने निर्माण गर्दाको बहसले जनता प्रशिक्षित भई सकेको हुन्छ । उसले सामाजिक अन्तरबिरोध हल गर्ने वैचारिक हतियार समेत प्राप्त गरेको हुन्छ । सामाजिक जनवाद वा लोकतान्त्रिक मान्यतामा चल्ने भएको पार्टीले विचार निर्माणको थलो जनता बनाउँछ

संगठन (सामाजिक र राजनीतिक एवं सांस्कृतिक), संघर्ष (वैचारिक, सैद्धान्तिक र भौतिक) र समन्वय वा एकताको सन्दर्भलाई गाउँ, शहर, वडा र टोल तहसम्म योजनाबद्ध बनाईएन । बनाउने गरी क्रान्तिका अगुवाको योजना बनेन । अहिले पार्टी कमिटीकै कुरो गर्ने हो भने त्यो कमिटीसँग आफ्नो कार्यक्षेत्रको विकास, संघर्ष र रुपान्तरणको स्पष्ट खाका छैन । मोटो रुपमा केन्द्रीय कमिटीले बनाएको कार्यदिशालाई परिभाषित गरेर लागु गर्ने स्थानीय कमिटी हो तर उसैसँग त्यसको खाका छैन । ती खालको कुनै पनि दलका योजना छैनन् । पार्टी कमिटीको अगुवाको काम सदस्यता नविकरण र लेवि संकलन बाहेक अरु कुरा त्यति व्यवस्थित छैन ।

यसले गर्दा क्रान्ति संस्थागत हुन नपाउँदै दशक बित्छ र परिस्थितिले भुईका कार्यकर्तालाई जनतासँग अलग्याउँछ, भुईका कार्यकर्तालाई नेतृत्वसँग अलग्याउँछ । नेतृत्व यसरी अलग्गिएपछि दलाल र व्यपारीहरूको चंगुलमा रुमल्लिँदै जान्छ । फस्दै जान्छ । जनताले जीवन्त सम्वादमा आफ्नो नेता नपाएपछि समस्याहरू जहाँको तहीँ भएपछि नेतृत्व र व्यवस्था प्रति विश्वास गुमाउँछ । अन्तत त्यो नेतृत्वका बिरुद्ध समेत जनता उत्रेर अर्को आन्दोलनका तयारीमा लाग्नु पर्ने अवस्था आउँछ ।

हो, अहिले दुई तिहाईको स्थिर भनिएको सरकारसँग पनि त्यही गुनासो, त्यही समस्या छ ।

प्रतिक्रान्ति कसरी रोक्ने ?

सामान्यतया सामाजिक अन्तरबिरोधको हल गर्न नसकेपछि सत्ता संकटमा फस्दै जान्छ । पहिले भित्र समाजको गहिरो एकाईमा भएको अन्तरबिरोध सतहमा आउँछ । त्यही बेलामा क्रान्तिकारी सरकारलाई  पार्टीलाई सामाजिक अन्तरबिरोधको हल गर्न सही सिद्धान्त र विचारको खाँचो पर्ने हुन्छ । त्यही विचारअनुरुप उसको कार्यदिशा तय भएको हुन्छ । मुलत यो पार्टीको सबै भन्दा माथिल्लो इकाईबाट त्यसलाई बनाइएको हुन्छ । अभ्यास त्यस्तै छ । तर यहाँ सिद्धान्त विचार निर्माणको नर्सरी भनेकोे जनस्तरका एकाई नै मुख्य हुन् ।

पार्टीले विचार निर्माण गर्दा नै जनताको तहबाट निर्माण गरेको छ भने निर्माण गर्दाको बहसले जनता प्रशिक्षित भई सकेको हुन्छ । उसले सामाजिक अन्तरबिरोध हल गर्ने वैचारिक हतियार समेत प्राप्त गरेको हुन्छ । सामाजिक जनवाद वा लोकतान्त्रिक मान्यतामा चल्ने भएको पार्टीले विचार निर्माणको थलो जनता बनाउँछ ।

क्रान्तिका लक्ष्य, उद्देश्य प्राप्त गर्न स्थानीय कमिटीको कार्ययोजना बन्नु पर्ने हुन्छ, संगठन निर्माणदेखि विकास निर्माणसम्म । वर्गीय अन्तरविरोध पक्षदेखि समाधानका खाकासम्म । अहिलेको सत्ता र सरकारको अभ्यास गरेको पार्टीले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन पूर्वाधार, रोजगारी सिर्जना, युवा, महिला, जेष्ठ र फरक क्षमताका मानिसहरूको चासो सम्बोधन गरिरहने स्पष्ट खाका हुनुपर्छ ।

कमिटीले पाँच बर्षे विकासको योजना तय गरेर त्यसलाई प्राप्त गर्ने खाका बताउनुपर्छ । तर स्थानीय पार्टी यसरी निर्माण नभएकोले भुई तहका संरचनाहरू बदलीएको राजनीतिसँग एकाकार लयमा हिँड्न नसकेपछि मानिसलाई पुरानै ठिक हुन्थ्यो कि भन्ने लाग्छ ।

यसर्थ मैले पार्टीहरूले स्थानीय तहलाई बलियो बनाएर काम गर्ने खालको व्यवस्थित पार्टी कमिटी निर्माणमा जोड दिनुपर्ने कुरामा ध्यान आकृष्ट गर्न चाहन्छु तर पार्टीमा गुट र स्वार्थ समूह हावि भएपछि प्रतिक्रान्ति रोक्ने एजेण्डा र आन्दोलनको एजेण्डा कार्यन्वयन गर्ने कुरा ओझेल पर्दै गयो ।

प्रतिक्रिया
सम्बन्धित