बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जुत्ता नेताले नै खान्छ, युग बदल्ने नेताले अझ धेरै खान्छ

विनोद ढकाल २०७६ फागुन २० गते १६:१५

-विनोद ढकाल

माओवादीहरू भर्खर शान्तिपूर्ण बाटोमा उदाएका थिए । राष्ट्रप्रमुख र प्रधानमन्त्रीको हैसियतमा थिए, गिरीजाप्रसाद कोइराला । त्यसबेला वाईसीएलको बिगबिगी थियो, कुनै बेला पूर्वयुवराज पारस शाहका चुल्ठे मुन्द्रे जस्तै । माओवादी र कांग्रेसको त्यति गुलियो सम्बन्ध बनिरहेको थिएन । गिरीजाबाबुको कार्यक्रम थियो– झापाको विर्तामोडमा ।

राष्ट्रप्रमुख र प्रधानमन्त्री समेत रहेका कारण कोइराला प्रशासनका निम्ति सर्वशक्तिमान थिए । यसै पनि नेपाली राजनीतिमा उनको नाम शिखरपुरुषमा दर्ज हुनुका दर्जनौं कारण छन् ।

बन्दुक, खुँडा या अनेक लिएर परिवर्तनको आन्दोलनमा होमिएको धङधङी बाँकी रहेका माओवादीहरूले कोइरालालाई कालो झन्डा देखाए । माओवादीहरूको ढाडको हड्डी भाँच्चिनेगरी प्रहरीले लाठीचार्ज गरेको दृश्यप्रति गिरीजाबाबुको नजर पुगेपछि तोते बोलीमा भनें,‘कचैलाई केही नगर, डेमोक्रेचीको लागि जुत्ता खाएको मान्छे हुँ, यीनीहरूले कालो झन्डा मात्र देखाएका हुन् । यो डेमोक्रेची नै हो !’

असाधारण मान्छेमाथि गरिएका प्रहारले कहिँ हराइरहेको आफ्नो परिचय ह्वात्त आउँछ भन्ने मानसिक रोगको कारकले पनि त्यो जुत्ता हानिएको हुनसक्छ । किनभने कपि क्याट क्राइममा सरिक भएको मानिसलाई त्यो अर्थमा पनि समाजशास्त्रले व्याख्या गरेको छ

फिलहाल माओवादीहरू छैनन् । ति माओवादीहरू अहिले कम्युनिस्टको झन्डा मुनी छन् । कोही सत्ताधारी नेकपा, कोही प्रतिबन्धित नेकपा, कोही क्रान्तिकारी कम्युनिस्ट पार्टी, कोही समाजवादी छन् । अर्थात्, चरणबद्ध हिसाबले माओवादीको विसर्जन भएको छ, अपवादका गोपाल किराँतीहरूले मौका नपाएको रोषमा कुनै नाम राख्दैमा ‘माओवादी’हरू हुन्छन् भन्ने छैन ।

अहिले सर्वसाधारणको सबैभन्दा रोष भ्रष्टाचारमा हो । विविध आयाममा पटक–पटक जिताएका नेताहरूले दिन नसकेको सुविधाको असन्तुष्टिमा देखिन्छ । युद्ध, द्वन्द्वको एउटा कहालीलाग्दो तस्बिरबाट गुज्रिँदै युग बदल्नेहरूप्रति अलिक बढी रोष हुने कारणका लागि विगत कोट्याउन पर्दैन । परिवर्तनमा यस्ता स–साना र सामान्य घटनाक्रम चलिरहन्छ, यसले नेताको विचार, उसको यात्रा र अविचलित परिवर्तनको एजेन्डामा ठेस पुग्दैन ।

अब प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको प्रकरण र त्यसले निम्त्याएका विविध विचारमाथि टिप्पणी गरौं । चित्त नबुझ्नु स्वभाविक हुन्छ किनभने राज्य नै कब्जा गर्छौं भनी हिँडेका बेला को कहाँ पुगे, तिनको लेखाजोखा त्यति सहज हुन सकेको छैन । लगत संकलन भयो होला राहत र सहयोग छैन । प्रक्रिया जारी छ त्यसैले सत्यनिरुपण र मेलमिलाप आयोग अहिलेसम्म खारेज भएको छैन, प्रचण्डकै पहलमा । यो स्मरण गर्दै अघि बढौं ।

राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित गरी प्रहार गरेको जुत्तो गायब छ तर त्यसले दिएको झन्कार अहिले पनि जारी छ । त्यो झन्कार बिरोध, आवेग, भावावेश, समर्थनलगायतका अनेक हिसाबमा प्रत्येक पाटोमा तरङ्ग बनिरहेको छ ।

लेखकीय, पत्रकारिता वा शैक्षिक भाषामा भनौं, यो तरङ्गको एउटा नाम छ– कपी क्याट क्राइम । यो सिको पनि हो । कुनै २२ बर्षको तिरुवा भाईले दक्षिण भारतीय फिल्म हेरेको थियो होला, अथवा युट्युवलगायतका विविध आयाममा विश्वका धेरै चर्चित नेतालाई जुत्ता, बोतल मात्र होइन, थप्पड नै लगाएको पनि देखेको थियो होला । हो, त्यहि सिको प्रचण्डमाथि गरेका कारणले यो कपी क्याट क्राइम भयो । कुर्सी खाने सुशील दा छैनन् । झापु खाने झलनाथ खनाल, झक्कु सुवेदीलगायत भने राजनीतिमा सक्रिय नै छन्, चुनाव जितेरै सदनमा छन् । अर्थात्, झापु हान्दा मात्र नेताको सर्वस्व गिर्छ भन्ने हुँदो रहेनछ ।

असाधारण मान्छेमाथि गरिएका प्रहारले कहिँ हराइरहेको आफ्नो परिचय ह्वात्त आउँछ भन्ने मानसिक रोगको कारकले पनि त्यो जुत्ता हानिएको हुनसक्छ । किनभने कपि क्याट क्राइममा सरिक भएको मानिसलाई त्यो अर्थमा पनि समाजशास्त्रले व्याख्या गरेको छ । प्रचण्ड साधारण मान्छे होइनन् । उनको एउटा विज्ञप्तिले अमेरिका हल्लियो, एउटा बयान र भेटले भारतको संस्थापनमा धक्का पुगेको थियो । यसका पछि पनि कुनै कर्म थियो होला र त्यस्तो भयो नि ! प्रचण्डको योगदान, राजनीतिक उचाईले विश्व राजनीतिमा तरङ्ग ल्याएको थियो र नै अहिले पनि उनका अनेक भनाईका आफ्ना ओज छन् ।

प्रचण्डको यो व्यक्तित्वसँगै उनका घरेलु र व्यवाहारिक पक्ष होलान् । त्यसलाई अर्को तुलोमा राखेर जोख्नुचाहिँ हुँदैन । केही कमजोरी हुन सक्लान्, त्यो पाटोको बहस अर्को पटक हुनसक्छ ।

प्रचण्ड ०५२ देखि ०७७ सम्म सबै पाटोमा नेताकै रुपमा उभिएको दृष्टान्तको अवमूल्यन गर्नु भनेको परिवर्तित प्रणालीप्रति अन्याय गर्नु नै हुन्छ, अर्को अर्थमा व्याख्या गर्न सकिँदैन

व्यवाहार, सम्बन्ध वा राजनीतिक घटनाक्रममा व्यक्तित्व कति महान् या कति खराब भन्ने तुलो आम व्यक्तिको एउटा धारणाले प्रष्ट बनाउँदैन । तर यथार्थचाहिँ के हो भने बर्षौंसम्म एउटा प्रणालीको दासत्वबाट परिवर्तन गरी अर्को प्रणालीको यात्रामा लैजाने एक आन्दोलनको नेतृत्व प्रचण्डले गरेकै हुन् । त्यसैले पनि सायद यो प्रणालीभित्र भरतमोहन अधिकारीहरूले गरेका योगदानका विषयमा स्फूर्थका साथ बोलिरहेका प्रचण्डलाई जुत्ता प्रहार गर्न सक्नेसम्मको स्वतन्त्रतामा कुनै तिरुवाहरूमात्र रमाइरहेका छैनन्, त्यो प्रकरणमा हाँस्ने, आवेग पोख्ने, भावुक हुने छुट अनेक अनेकले पाए । यो स्वतन्त्रताको अवस्थालाई मिहिन र निक्कै गहिरो भावमा विचार गर्ने हो भने, नेपथ्यमा भेटिने एउटा मात्रै नामचाहिँ ‘प्रचण्ड’ नै हो । प्रचण्ड नामको लहरोमा झुन्डिने अनेक नामहरू गणतान्त्रिक प्रणालीमा डोहोरिएन आए, कतिपयलाई ल्याए तिनको नाम ११ नम्बरबाटै सुरु हुन्छ । १ देखि १० सम्म प्रचण्ड नै भेटिन्छन्, यो राजनीतिक प्राणीले बुझ्न सक्ने यथार्थ हो ।

युगले एकाध व्यक्तिलाई आम साधारणबाट नेता, नेताबाट महान् नेता बनाउन सक्छ । नेपालको हकमा ७ सालको प्रजातान्त्रिक आन्दोलनपछि नेता बनेका थिए, विश्वेश्वरप्रसाद कोइराला । ०४६ सालको आन्दोलनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई उभ्यायो । ०६२ सालको आन्दोलनले गिरीजाबाबुलाई नेतामा अनुमोदन गरेकै थियो, एउटा पाटोमा । तर, प्रचण्ड ०५२ देखि ०७७ सम्म सबै पाटोमा नेताकै रुपमा उभिएको दृष्टान्तको अवमूल्यन गर्नु भनेको परिवर्तित प्रणालीप्रति अन्याय गर्नु नै हुन्छ, अर्को अर्थमा व्याख्या गर्न सकिँदैन ।

र, परिवर्तनका क्रममा साना साना परिवार, व्यक्ति र सदस्यले चोट पाएका छन् । ति चोटहरूमा कहिँ मल्हम लगाउन नपुग्दै राजनीतिक दलका नेतामा आएको अभूतपूर्व आर्थिक परिवर्तन, अस्वभाविक धनआर्जन भएको दृश्यले पोल्न सक्छ । तर त्यसलाई समग्र प्रणालीको नेतृत्व गरेको नेताको व्यक्तित्व नै छैन भन्नुलाई न्यायीक निष्कर्श मान्न सकिँदैन, मचाहिँ मान्दिन । त्यसैले भन्छु– जुत्ता नेताले नै खान्छ, युग बदल्ने नेताले अझ धेरै खान्छ !

प्रतिक्रिया
सम्बन्धित