शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मत मिल्यो, मन मिलेन कि मन मिल्नेहरुको मत बाझ्यो ?

निर्मल भट्टराई २०७६ फागुन १७ गते २२:०६

-निर्मल भट्टराई
काठमाडौँ । लामो समय लगाएर संविधानसभाले जारी गरेको नेपालको संविधानले व्यवस्था गरेबमोजिम भएको प्रथम स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा(एमाले)ले देशभर राम्रो परिणाम हात पारेको थियो ।

भारतीय नाकाबन्दीको बेला प्रधानमन्त्री तंथा एमाले अध्यक्ष के पी शर्मा ओलीले राखेको अडान र नाकाबन्दीले सिर्जेको संकट समाधानमा खेल्नुभएको प्रभावकारी भूमिकाको प्रत्यक्ष प्रभाव र तत्कालीन एमालेले कष्टसाध्य तरिकाले बनाएको राष्टव्यापी एवं व्यवस्थित संगठनका कारण तत्कालीन माओवादी केन्द्र, नेपाली कांग्रेस तथा अन्य पार्टीको गठबन्धनका बावजूद त्यति ठूलो सफलता प्राप्त भएको थियो ।

यसका अतिरिक्त पार्टी नेतृत्व टीमको एकताबद्ध प्रयास एवं पार्टी कार्यकर्ता र जनताको सचेतनापूर्वक निरन्तर निगरानीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आईपुग्दा परिस्थितिले कोल्टे फेरिसकेको थियो । विगतदेखि स्थानीय तहको निर्वाचनसम्मका सारा तिक्तता र वैचारिक र सांगठानिक असहमति र असमानतालाई चिर्दै देशका दुई ठूला कम्युनिष्ट शक्तिहरु एक ठाउँमा आईपुगे ।

तत्कालीन एमाले र तत्कालीन माओवादीको दर्विलो चुनावी गठबन्धनमात्र बनेन, त्यही अवधिमा पार्टी एकताका मूलभूत आधार तयार पार्यो ।

स्वभाविक रुपमा तत्कालीन एमाले वैचारिक र सांगठानिक हिसाबले मूल पक्षको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनको एकताको महानदीमा समाहित बन्यो ।

नेकपाको मूल पक्षको रुपमा रहेको तत्कालीन एमालेको एउटा गौरबशाली परम्परा थियो । जस्तोसुकै जटिल परिस्थितिमा पनि नेतृत्वपुञ्जले धैर्य र विवेक नगुमाई काम गर्यो ।

२०५४ सालमा बामदेब गौतमको नेतृत्वमा भएको पार्टी विभाजनलाई एक अपवाद मान्ने हो भने अरु सबै कठिन बेलामा त्यो नेतृत्वपूञ्जले एमालेलाई सम्हालेर एमाले–माओवादी महाएकताको विन्दुमा ल्याइपुर्याएको हो ।

आफ्ना सर्वाधिक महासचिव मदन भण्डारीको अकल्पनीय अवसान र प्रथम लोकपृय कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको भरोसायोग्य संरक्षकत्व गुमाउँदा पनि त्यो पार्टी सम्हालिएरै अगाडि बढ्न सफल भयो ।

त्यो यात्राका सफल र प्रमुख सारथी के पी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतम (एमाले–माले एकतापछि निरन्तर) र ईश्वर पोखरेल नै छन् ।

नेकपाको महाएकतामा सम्मिलित भएको अर्को पक्ष अर्थात् तत्कालीन माओवादी केन्द्र (यहाँ उसलाई “गौण पक्ष” भन्न खोजिएको होईन) को श्रृङ्खला निकै फरक ढंगले अगाडि आयो ।

जनयुद्धको अवधिभर तत्कालीन माओवादीमा इन्ट्रीग्रिटी देखिए पनि शान्तिप्रक्रिया सुरु भएको केही बर्षमै वैचारिक अन्यौल, नेताहरुबीच आपसी अविश्वास, घात–प्रतिघातका कारण माओवादी विभाजनको सिकार बन्दै गयो । नेतादेखि कार्यकर्तासम्म यति अविश्वास थियो कि कति बेला के हुन्छ अनुमान गर्न सक्ने अवस्था थिएन ।

नेतृत्वमा देखिएको त्यतिबेलाको अविश्वासको एउटा श्रृङ्खला यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । २०७० सालमा सम्पन्न दोश्रो संविधानसभाको निर्वाचन पछि नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा तत्कालीन एनेकपा(माओवादी) अन्तरराष्टिय विभागको गठन भएको थियो ।

अध्यक्ष प्रचण्डका आश्वासनका चाङबीच नेता वर्षामान पुनको विशेष पहलमा यो पङ्तिकार पनि त्यो विभागको सदस्य मनोनित भएको थियो ।

एक दिन छोटो अवधिको सूचनामा विभागको बैठक बोलाईयो । नेता नारायणकाजी श्रेष्ठ त्यो दिनको दि राइजिङ नेपाल बोकेर बहुतै असन्तुष्ट मुद्रामा बैठक कक्षमा आएर अघिल्लो दिन तय भएको अध्यक्ष प्रचण्डको चीन भ्रमणसम्बन्धी समाचार प्रति तीव्र असन्तुष्टि जनाए ।

भएको के रहेछ भने श्रेष्ठलाई थाहै नदिई कृष्णबहादुर महराबाट त्यो भ्रमणको टुङ्गो गरिएको रहेछ । र, श्रेष्ठले दि राइजिङ् नेपालको समाचारबाट थाहा पाएका रहेछन् ।

नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले एक कार्यक्रममा भनेको सही हो – दुई पार्टीको मत मिल्यो, मन मिल्न बाँकी छ । एकताको समग्र प्रक्रियामा मन त मिल्दै जाला । निरन्तर संघर्षण– सहकार्य – एकताको बाटोबाट गन्तव्यमा पुगिएला ।

तर नेकपाभित्रको वर्तमान संकट लामो समयदेखि मन मिलेकाहरुको मत बाझेर सिर्जना भएको हो । त्यसकारण वर्तमान संकटको समाधान, पार्टीको वैचारिक र सांगठानिक अग्रगति एवं पार्टीको मजबुत एकता तथा देशको सुन्दर भविष्यका लागि उल्लेखित एकताको मूल पक्षका पाँच सारथीहरुको मत मिल्नु अनिवार्य छ । चेतना भया ।

प्रतिक्रिया
सम्बन्धित