बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

तीन ‘आर’मा लुकेको छ राम्रो सरकार

रिना भट्ट २०७६ फागुन १७ गते १०:५४

महात्मा गान्धीले भनेका थिए– राम्रो सरकार भनेको आत्म केन्द्रित हुनु हैन । गान्धीको यो भनाईको अर्थ, जनता केन्द्रित नै हो । दक्षिण एसीयाली राजनीतिको एउटा चरित्र छ, युरोप, अमेरिकालगायतका विकसित देशको राजनीतिको चित्र अर्को छ ।

हामी राम्रो सरकारको कुरा गर्दैछौं । कस्तो हुनुपर्छ ? अझ विश्वमै पनि यो सुत्र कस्तो होला ? नेपालका सन्दर्भमा पनि राम्रो सरकार कस्तो हुनुपर्ने होला ? यी प्रश्नका उत्तरहरू अवश्य छन् ।

राम्रो सरकारको अवधारणा राजनीतिशास्त्रको विद्यार्थीका लागि मात्र होइन, सम्पूर्ण नागरिकको लागि नै जानकारी हुनुपर्छ । लोकतन्त्रमा सरकार चुन्ने अधिकार नागरिकमा हुन्छ तसर्थ जनताले वा नागरिकले एउटा यस्तो सरकार लाई चुन्नुपर्छ जसको काम हेरेर यस्तो पो हो त ‘राम्रो सरकार’ भन्ने प्रत्याभूति होस् ।

अन्तर्राष्ट्रिय स्तरबाट नै त्यो सरकारको तारिफ हुन्छ भने त्यो नै राम्रो सरकार हो ।

रिना भट्ट

हाम्रो जस्तो देशमा मात्र होइन बिकसित राष्ट्रहरूमा पनि यसको परिभाषामा अन्तर देखिएको छ । नयाँ सरकार बनाउने क्रममा मतदाताले आआफ्नो सोच अनुरूपको राम्रो सरकार बनाउन भोट खसाल्छन् । गरिब नागरिकले सोचेको सरकार र धनी नागरिकले सोचेको राम्रो सरकारमा फरक हुन सक्छ । शिक्षित र अशिक्षितले महिला र पुरुषले सोचेको सरकार मा पनि भिन्नता पाईन सक्छ । यस अर्थमा राम्रो सरकार कसलाई भन्नेबारे पनि आज धेरै मतहरू फरक देखिएका छन् ।

बिश्वका कुनै पनि सरकार प्रत्येक नागरिकलाई चित्त बुझाउने किसिमबाट राम्रोको परिभाषामा आफूलाई प्रस्तुत गर्न कठिन हुनसक्छ ।

तर राम्रो सरकार कस्तो हुनुपर्छ ? यो प्रश्नको जवाफ राजनीतिक विज्ञानले व्याख्या गरेको छ ।

राजनीति बिज्ञानले केही यस्तो प्रावधानहरू राखेको छ जसले  त्यो सरकारलाई राम्रो काम गरेको भनेर भन्न सकोस् वा ‘राम्रो सरकार’ भनेर चिन्न सकोस् भनेर तोक्छ ।

सैद्धान्तिक रूपमा राजनीति बिज्ञानले ‘गुड गभर्नेन्स’बारे केही सिद्धान्त वा सुशासनका  लागि आबश्यक तत्वबारे उल्लेख गरेको भएता पनि  आजको बिश्वको परिस्थिति र मानब चाहना मा ह्वात्त बृद्धिले सुशासनको आबश्यक तत्व मा केही महत्वपूर्ण कुराहरू थपनुपर्ने देखिदैछ । जसले कुनै पनि देशको सरकारलाई राम्रो सरकार भनेर भन्न सकियोस् ।

ती तत्वहरूलाई हामीले तीन ‘आर’ अर्थात् ‘रिप्रिन्जिटेटिभ’ प्रतिनिधात्मक, ‘रेस्पोन्सिबल’ उत्तरदायी र ‘रेस्पोन्सिभ’ संवेदनशीलमा राख्नुपर्छ ।

प्रतिनिधात्मक : .लोकतान्त्रिक व्यवस्था भनेकै जनताको शासन भएकाले शासन संचालन गर्ने सम्पूर्ण शासक जनप्रतिनिधित्व गर्न भनेरै जनताको प्रतिनिधि बनेर आएका हुन्छन् । त्यो सरकारलाई प्रतिनिधात्मक मानिन्छ जसले जनताको सबै घटकको प्रतिनिधित्व गर्छ । चाहे त्यो कार्यपालिकामा वा व्यवस्थापिकामा होस् । स्त्री, पुरुष, शिक्षित अशिक्षित, युवा बृद्ध, पिछडिएको वर्ग वा स्रभ्रान्त वर्ग, बिभिन्न धर्म र जातिका मानिसको सबै समाजको घटकहरूको प्रतिनिधित्व सरकारले गर्दछ । यस्तो सरकारमा कसैले पनि आफ्नो उपेक्षा भयो भनेर बिरोध गर्न सक्दैन । तर यदि यी वर्गको साँच्चिकै प्रतिनिधित्व हुन्छ भने त्यहाँ बिरोध र असन्तुष्टि देखिँदैन तर यदि संसदमा र मन्त्रीमण्डल मा यी वर्गको नाममा अरू कसैको प्रतिनिधित्व हुन्छ भने जनता सरकारले आफूलाई अपेक्षित गरेको महसुस गर्दै बिरोध जनाई रहन्छन् ।

सरकारले जनताको प्रतिनिधित्व गर्दै जनता प्रति उत्तरदायी भई जनता को संवेदनशील र भावनालाई पत्ता लगाई त्यसै संवेदनशील लाई ध्यानमा राखी सरकारले निर्णय लियो भने त्यो सरकारको निर्णयलाई राम्रो निर्णय भन्दै  त्यस्तो शासनलाई राम्रो शासन वा सुशासन भनिन्छ । जनताको भावनालाई कदर नगरेर  यदि सरकारले निर्णय गर्दै जान्छ भने त्यस्तो अवस्थामा सरकारको निर्णय कसरी जनतालाई मन पर्न सक्छ र ?

तसर्थ सरकार सँधै प्रतिनिधात्मक भयो भने जनतालाई, ‘हो हामी पनि सरकारमा छांै, सरकारले गरेको काम हाम्रो काम हो, हामी नै सरकार हौं’ भन्ने भएपछि समिक्षा हुन्छ र राम्रो नराम्रो सजिलैसँग जनताले छुट्याउन सक्छन् । तर यदि सरकार साचिकै प्रतिनिधात्मक हुँदैन नाम मात्रको प्रतिनिधात्मक हुन्छ भने त्यस्तो सरकारलाई राम्रो सरकार भन्न सकिन्दैन । जुन सरकारको विरोध भइरहन्छ ।

उत्तरदायी सरकार : जनताको प्रतिनिधित्व गर्ने सरकार सँधै जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार हाम्रो मान्छे को हो,  सरकारलाई हामीले चुनेको हो भन्ने भएपछि जे जति काम गर्छ हाम्रो हितको लागि गर्छ र जति पनि निर्णय गर्छ त्यो हामीलाई जानकारी दिएर सोधेर मात्र गर्छ भन्ने कुरा उत्तरदायी सरकार मा हुन्छ । यस्तो अवस्थामा सरकारले उत्तरदायी सरकारको ब्यबहार नगरेर जब र आफू खुशी गर्न थाल्छ तब जनता सरकारप्रति विश्वसनीय हुँदैनन् । बिरोध गर्न थाल्छन् तसर्थ जहिले पनि सरकारले कुनै पनि नीति निर्माण गर्दा होस् वा निर्णय गर्दा जनतामा लगेर पहिला जनतालाई यस्तो नीति निर्माण गर्दैछौं भन्ने जानकारी जुनसुकै माध्यमबाट भए पनि दिनुपर्छ । ति मिडिया अथवा जनताको प्रत्यक्ष सहभागीता हुने फोरम पनि हुन सक्छन् ।

सरकार  जनताप्रति जिम्मेवार हुनै पर्छ भन्ने कुरा लोकतान्त्रिक व्यवस्था भएको देशमा यस्तो पाइन्छ । तानाशाही र राजतन्त्र हुन्थ्यो भने त्यहाँ सरकारले निर्णय गर्दै गर्दा जानकारी दिन आबश्यक हुँदैन थियो चाहे त्यो जनतालाई मन परोस नपरोस् सरकारले आफूले नै निर्णय गर्ने काम लोकतन्त्र नभएको व्यवस्था मा देखिन्छ ।

संवेदनशील सरकार :  सरकारलाई हामीले पाँच बर्ष को लागि चुनेपछि  ‘अब हामीलाई जनताले पाँच बर्ष को लागि पठाएको हो, हामीले जे पनि गर्न सक्छौं’ भन्ने दम्भ नदेखाइ जनताप्रति संवेदनशील हुँदै उनीहरूले के अपेक्षा गरेको छ भन्ने जानकारी लिने प्रयास हुनुपर्छ । सरकारले आफ्नो मातहतका मन्त्री, सांसद, कार्यकर्तामार्फत समयमा समयमा जनताको चाहना भावना र आकंक्षा बुझ्ने प्रयास गर्नुपर्छ ।

जनताको जीवनप्रति संवेदनशील हुँदै अघि बढ्नु नै लोकतान्त्रिक शासन प्रणालीको बिशेषता हो र यो बिशेषतालाई ध्यानमा राखेर काम गर्ने सरकार नै राम्रो सरकार हो । अर्थात् सुशासित हो ।

यसरी सरकारले जनताको प्रतिनिधित्व गर्दै जनता प्रति उत्तरदायी भई जनता को संवेदनशील र भावनालाई पत्ता लगाई त्यसै संवेदनशील लाई ध्यानमा राखी सरकारले निर्णय लियो भने त्यो सरकारको निर्णयलाई राम्रो निर्णय भन्दै  त्यस्तो शासनलाई राम्रो शासन वा सुशासन भनिन्छ । जनताको भावनालाई कदर नगरेर  यदि सरकारले निर्णय गर्दै जान्छ भने त्यस्तो अवस्थामा सरकारको निर्णय कसरी जनतालाई मन पर्न सक्छ र ? जब निर्णय नै मन पर्दैन भने सरकार कसरी मन पर्छ ?

यस्तो अवस्थामा सरकारलाई नराम्रो सरकार वा कुशासन भन्ने नामले जनताले सम्बोधन गर्न थाल्छन् । तसर्थ सरकारले जहिले पनि निर्णय लिनु पर्दा यो बिषयमा संवेदनशील भएर जनभावनाको कदर गर्नुपर्छ ।

यी तीन वटै कुरा एउटा राम्रो सरकार बन्न को लागि आवश्यक भएकाले अबको विश्वमा प्रत्येक देशका नागरिकहरूले वा जनताहरूले प्रतिनिधात्मक, उत्तरदायी र संवेदनशील सरकार रुचाउँछन् ।

(लेखिका पाटन क्याम्पसकी राजनीतिशास्त्रकी प्राध्यापक हुन्)

प्रतिक्रिया
सम्बन्धित