मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सौराहामा फूड फेष्टिबल शुरु

दैनिक नेपाल २०७६ माघ २९ गते ९:२०

शिशिर सिंखडा

सौराहा, २९ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवारदेखि १४ औं सौराहा फुड फेष्टिवल शुरु भएको छ ।

रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए ।

पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री नेपालले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताए । उनले बागमती प्रदेशले पर्यटन विकासलाई प्राथमिकता दिएको बताए ।

प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भ्रमण वर्ष घोषणामा मात्र सीमित हुन नहुने बताए ।

रत्ननगरका मेयर नारायण वनले भ्रमण वर्षलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाए ।

कार्यक्रममा केन्द्रीय रेवानका अध्यक्ष अरनिको राजभण्डारी, रेवान सौराहाका पूर्वअध्यक्ष तथा वडाध्यक्ष राजन भट्ट, रेवान महिला समूहकी अध्यक्ष माला दाहाल, क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दीपक भट्टराई, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगरकी उपमेयर विमला दुवाडी, नेकपाका नगर अध्यक्ष कुलप्रसाद भुषाल, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले खाना र संस्कृतिको माध्यमबाट पर्यटन प्रर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको बताए ।

फेष्टिवल उद्घाटन हुनुपूर्व ९० वटा संघसंस्था तथा समूहहरूले शोभायात्रा निकालेका थिए । शोभायात्रामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई उद्घाटन कार्यक्रममा पुरस्कृत समेत गरिएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेको संयोजक ध्रुव गिरीले जानकारी दिए ।

फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकारसंगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रदर्शन गरिने फुड फेष्टिवलका संयोजक गिरीले बताए ।

फेष्टिव अन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइको छ ।

फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरूको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन ।

भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको छ । फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्तिश्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शीतल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डीबी लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नवीन नेपालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित