शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेस निकटको फोरममा नयाँ नेतृत्व चयन

दैनिक नेपाल २०७६ माघ २५ गते ८:३९

काठमाडौं, २५ माघ । नेपाली कांग्रेस निकटका व्यवसायीहरूको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनाको नतिजाअनुसार फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी भएका छन् । ढकालले १ सय ३ मत ल्याई अध्यक्ष पदमा कब्जा जमाएका हुन् ।

ढकालका निकटतम प्रतिद्वन्द्वी भुवनसिह गुरुङले ५६ मत ल्याएका थिए । अध्यक्षका अर्का प्रत्याशी ऋषि शर्माले ४४ मत पाएका थिए । अध्यक्षकै अर्की प्रत्यासी सीता देवकोटाले ३९ मत ल्याएकी थिइन् ।

अध्यक्ष पदमा चार जना प्रतिस्पर्धी थिए । अध्यक्षमा निर्वाचित ढकाल सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मतसहित विजयी भएका छन् । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई ‘रमेश’ले ८३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार थिरमणि पौडेलले ५३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा जनक खड्का ‘प्रकाश’ १ सय ६३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहनकुमार ढुंगेलले ७६ मत प्राप्त गरी पराजित भए । उपाध्यक्षका अर्का उम्मेदवार मित्रदेव घिमिरे ‘गोपाल’ले ६१ मतसहित पराजित भएका छन् ।

महासचिव पदमा १ सय ५३ मतका साथ भवानी निरौला विजयीको शानदार जित भएको छ । उनका प्रतिद्वन्द्वी चिरञ्जीवी बस्यालले ८६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा कमल काफ्ले १ सय ६० मतका साथ विजयी भएका छन् । काफ्लेका प्रतिद्वन्द्वी प्रकाश बोहराले ७८ मत पाए ।

फोरमको कोषाध्यक्षमा कृष्णकुमार जैशी विजयी भएका छन् । जैसीले १ सय ३ मत पाएका थिए । जैशीका निकटतम प्रतिद्वन्द्वी सञ्जय पनेरुले ६९ मत पाए । कोषाध्यक्षकै अर्का उम्मेदवार ईन्द्रप्रसाद आचार्यले ६७ मत ल्याएका छन् । सह–कोषाध्यक्षमा अमिर बाँस्तोला निर्विरोध भएका छन् ।

फोरमको दश सदस्यीय पदमा ईश्वर सापकोटा, नारायण भुषाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बु, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल ‘नवीन’, राजेश गौतम र राजेश यादव निर्विरोध भएका छन् ।

नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी फोरममा कुल २ सय ४४ मत खसेको थियो । दुई मत बदर भएको थियो ।

फोरमको १०औँ साधारण सभाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार काठमाडौंमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित