शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नक्कली सई’सापको सक्कली कर्तुत

दैनिक नेपाल २०७६ माघ १८ गते १२:४७

काठमाडौं, १८ माघ । २६ बर्षका राजु कार्की अहिले काठमाडौं प्रहरी परिसरको हिरातमा छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले विहीबार साँझ पक्राउ गरेको थियो ।

ठगीमा माहिर रहेका कार्कीले यसपटक भने तीन लाख झ्वाम पारे । त्यो पनि नक्कली सई बनेर ।

कार्कीको फन्दामा परेका हुन् काठमाडौं मनहरा बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–३ का लक्ष्मण गिरी । गिरीलाई ‘म नेपाल प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु । मसँग बैंक खातामा ३० लाख छ । म अप्ठेरोमा पर्न सक्छु । तपाईको खातामा हालिदिन्छु’ भने ।

कार्कीको यस्तो लोभलाग्दो अफर सुनेपछि गिरी पनि मोहित भए । तर त्यो ३० लाख आफ्नो खातामा आउनका लागि गिरीसँगको कारोबार देखाउनुपर्छ भन्ने शर्त पनि थियो ।

‘बैंकमा कारोबार देखाउन गिरीलाई तीन लाखको चेक काटिदिनुस् भनी लगेको देखियो’, प्रहरी भन्छ,‘गिरीले चेक काटेपछि उनलाई अलपत्र राखेर भागेको पनि पाइयो ।’

कार्की चाबहिल शाखामा गिरीसँग गएका थिए, गिरीलाई अलपत्र पारेर रकमचाहिँ नेपाल बैंकको कालिमाटी शाखाबाट निकालेको प्रहरीले जनाएको छ ।

रामेछाप मन्थलीका गिरीलाई कलंकीबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि परिसरलाई बुझाइएको छ । उक्त रकमबाट कार्कीले बिहेमा सहभागी भई कपडा किनेको, ठमेलमा मोजमस्ती गरेको पनि खुल्यो ।

अनुसन्धानका क्रममा कार्की २८ चैत, ०७२ मा ठगीमा मुद्दा चली ६ महिना जेल भुक्तान गरी ०७३ मा ६८ हजार धरौटीमा छुटेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित