बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भाटभटेनी सुपरमार्केटका मालिकदेखि अख्तियार पूर्वप्रमुख आयुक्तलाई कारबाही गर्न सिफारिस

दैनिक नेपाल २०७६ माघ १८ गते ११:५२

काठमाडौं, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसम्मलाई कारबाहीको सिफारिस गरेको छ ।

सीआईबीले उक्त प्रकरणमा राजनीतिक दलका नेताको संलग्नता देखाएको छैन । यस प्रकरणमा सीआईबीले १० महिनासम्म छानबिन गरेको थियो । यसक्रममा एक सय १९ जना दोषी पाइएको छ, कारबाहीका लागि हामीले सिफारिस गरेका छौं, सीआईबी स्रोतले भन्यो ।

बस्न्यात भौतिक सचिव रहँदा बालुवाटार जग्गा व्यक्तिका नाममा गर्न प्रमुख भूमिका खेलेको र व्यापारीहरूको पनि संलग्नता रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । उसले ११९ जनाको नामै किटेर कारबाहीका लागि सिफारिस गरेको हो ।

उनीहरूविरुद्ध किर्ते र ठगी अभियोगमा कारबाही सिफारिस गरिएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले पूर्वमन्त्री छविराज पन्त, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसम्मको उक्त प्रकरणमा संलग्नता भेटेको हो ।

बस्न्यातले भौतिक पूर्वाधार सचिव रहँदा बालुवाटारको जग्गा व्यक्तिको नाममा पुग्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र त्यसका लागि उनी मुख्य जिम्मेवार भएको प्रतिवेदनको ठहर छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवाससहित एक सय ३४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा लगेर हिनामिना गरेको घटना सार्वजनिक भएपछि सरकारले २८ फागुन ०७५ मा विस्तृत अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।

उक्त प्रतिवेदन सीआईबीले गृह मन्त्रालयमा बुझाएको थियो । गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित