मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

देश बनाउन सहयोग गरौँ

डा. चन्द्र गिरी २०७६ माघ १७ गते १४:५६

– डा. चन्द्र गिरी
नर्थ क्यारोलिना, अमेरिका। विदेश जाने निर्णय गरेकै दिनदेखि केहि वर्ष विदेश बसेर नेपाल फर्कने चाहना हरेक नेपालीले बोकेको हुन्छ । विदेशमा खुट्टा टेकेपछि त झन् नेपाल फर्कने चाहना झन् बढेर आउँछ ।

यथार्थता के छ भने, केहि अपवाद छोडेर कोहि पनि नेपाली, स्वदेश फर्किँदैनन् । केहि साथीहरुले “नेपाल फर्कौँ महाअभियान” सुरु गर्ने सोच राखेपनि मेरो विचारमा यो अभियान समय सापेक्ष छैन अनि निकट भविष्यमा सफल हुने कुनै छाँटकाँट देखिँदैन ।

विकल्प के छ त ? देशको माया बोकेर हिँडिरहेका र अनेकौँ कारणले देश फर्कन नसक्ने नेपाली मुटु हरुले अब विदेशमै बसेर भएपनि अझ तातिएर अझ जोडतोडले देश बनाउन सहयोग गर्ने बेला आएको छ ।

किन देश फर्कौँ अभियान निकट भविष्यमा सफल हुने सम्भावना छैन त ? कारणहरु अनेकौँ छन् । मुख्यतया विदेश बसिसकेपछि, जानी वा नजानी, हामी बदलिसकेका हुन्छौँ । हाम्रो सोचाई बदलिसकेको हुन्छ । अनि हामीले छोडेको नेपाल पनि बदलिसकेको हुन्छ ।

बदलिँदो परिवेश

नयाँ देश अनि नयाँ परिवेशमा पुग्ना साथ भाषा, भेषभुषा, संस्कृति, खाना, चाल चलन, सोच्ने तरिका, काम गर्ने तरिका आदी इत्यादी छिटो भन्दा छिटो सिक्नु पर्ने हुन्छ ।

यिनै कुराहरु सिक्ने होड बाजीमा थाहै नपाई हामी अर्कै मान्छे बनि सकेका हुन्छौँ । सुरुका १/२ वर्षमा बेस्सरी दुख पनि पाइन्छ । यही क्रममा धेरै कुरा सिकिन्छ ।

घरमा कहिलै खाना नपकाएका छोरा/छोरीले खाना पकाउन सिक्दछन्, र आफू स्वतन्त्र भएर बस्न सिक्छन् । आर्थिक रुपमा सबल भईन्छ । बाहिर विदेशी खाना खाँदा/खाँदा आफ्नो स्वाद पनि बदलिसकेको हुन्छ ।

हिजो असन को भिडभाडमा ठेलमठेल गरेर हिँडिएकै हो । केहि वर्षपछि नेपाल फर्कँदा त्यही भिड उकुस्मुकुस लाग्न थाल्छ । साधारणतया, विदेशमा त्यस्तो भिडभाड हुँदैन, भए पनि सबैले केहि दुरी राखेर मात्र हिँड्छन ।

काकरभिट्टादेखि विराटनगर जाने बसमा झुण्डिएर वा छतमा बसेर यात्रा गरिएकै हो । त्यसैगरि, काठमाडौँको प्रदुषणमा बसिएकै हो । विदेशबाट फर्केपछि त्यो बस यात्रा र प्रदुषण पचाउन अलि गार्हो हुन सक्छ ।

ट्राफिक र ट्राफिक नियम पालन देख्दा पनि अलि असजिलो लाग्न थाल्छ । पहिले काठमाडौँमा गाडी हाँकेर हिंड्ने मान्छे बिस वर्षपछि फर्केर जाँदा गाडी हाक्ने हिम्मत गर्दैन । यी सब कुराहरु केहि हप्ता पछि त बानी भइ हालिन्छ ।

अरु धेरै कुराहरु झन् राम्रो भएका छन् । आफ्नो परिवार, आफन्त, छिमेकी, र साथीभाई सँगको भेटघाट र घुमाईमा अझ रमाइलो भएको छ ।

सबै मिलेर देश तथा विदेश घुम्ने प्रथा बढेको छ । चाडपर्व, बिहे, मन्दिर र तिर्थ, सेकुवा पसल, मोस्मो पसल आदि सम्झँदा मात्र नेपाल फर्कौँ फर्कौँ जस्तो लाग्छ ।

स्कुल कलेजमा खाएका र गरेका कुराहरुको खुब सम्झना आउँछ । यी मध्ये धेरै कुराहरु, पहिले भन्दा राम्रा भएका छन् । राजनीति, जागिर अथवा व्यापार गर्ने कुरामा केहि सुधार आए पनि, अझै धेरै कुरा सुधार हुन बाँकी नै छ ।

नेपाल फर्कने नि नफर्कने ?

यो प्रश्न हरेक प्रवाशी नेपालीले सोची रहन्छ । साथीभाई सँगको जमघटमा, परिवार सँगको घर सल्लाहमा, जागिरमा, अनि आफू एक्लै हुँदा बेलाबेलामा मनमनै, यो प्रश्न उठिहाल्छ ।

नयाँ ठाउँमा थलो गाड्न कठिन भइरहँदा, नेपाली माटो, आफन्तहरु, साथी भाई, चाड पर्ब, खानपिन, मन्दिर, संगीत, आदि इत्यादीको झल्झल्ती सम्झना आउने नै भयो । विदेश आएर मैले गल्ती त गरिनँ ? भन्ने प्रश्न उठ्छ, बारम्बार उठ्छ ।

झोला झिम्टी बोकेर श्रीमती र एक छोरीसँग नेपालदेखि लामो यात्रा गरेर टोरोन्टो क्यानाडा पुगेका एक मित्र, आफ्नो नयाँ अपार्टमेन्ट छिर्नु अघि पार्किंग लट मा भन्नु हुन्थ्यो , “बेकार क्यानाडा आए जस्तो छ, श्रीमतीले जोड गरिन्, नाई भन्न सकिनँ, मलाई त फर्कन मन लागिसक्यो”। सान्त्वना दिँदै मैले भनेको थिए, “नआत्तिनुस सब ठिक हुन्छ”। अठार वर्षपछि आज उनी क्यानाडामा रमाएरै बसेको सुनेको छु ।

डिभी परेर, अमेरिकाको साउथ डकोटा राज्यमा आएका अर्का मित्र भन्छन्, “दाई म त ५ बर्ष काम गरेर,पैसा कमाएर नेपाल फर्कने हो”। मैले भनेँ “५ वर्षपछि कुरा गरौँला” ।

छोरा नेपालमै छोडेर आएका ति जोडी ५ वर्षपछि नेपाल फर्केनन् । समय निकै बितेछ, १५ वर्षको अन्तरालपछि केहि दिन अघि मात्र फोनमा कुरा भयो, उनी नोर्थ कारोलिनामा घर किनेर २ छोरा र श्रीमतीसँग व्यवस्थित रुपमा बसेका रहेछन् ।

मेरो एउटा साथीको साथीसँग जापानको राजधानी टोकियोको नेपाली रेस्टुरेन्टमा जम्काभेट हुँदा, भन्थे, “५ करोड कमाउने हो अनि नेपाल फर्कने हो !”, उनी गरिमामय मोनोबुशि छात्रवृतिमा जापानमा विध्यावारीधी गर्दै थिए ।

श्रीमती र उनले मेहनत गरेर ५ करोड पनि कमाए, नेपाल फर्के । नेपालको एक इन्जिनीयरिङ्ग कलेज को प्रोफेसरको जागिर पनि पाए, तर १७ दिनमा राजिनामा दिएर, अस्ट्रेलिया तिर लागे ।

थाइल्यान्ड बस्दा एउटा कार्यक्रममा एउटा साथीले भने “मैले नेपालको पात पतिङ्गर, झारपात उकाली ओराली, साइली माइली लाई खुबै मिस गरेको छु, म त नेपाल फर्कने हो”।

एक वर्षपछि उनी पनि न्युजिल्यान्डको इमिग्रेन्ट भिसा लिएर उतै बिलिन भए । विरक्त लाग्ने नेपाली राजनीति देखेर बरु म पो नेपाल फर्केर राजनीतिमा होम्मिनु पर्यो भन्ने अर्का मित्र पनि फर्केर जान सकेका छैनन् । यी त केही उदाहरण मात्र हुन् ।

केहि वर्ष अगाडि इन्टरनेटमा भएको एउटा सर्भेमा दक्षिण एसिया मूलका तर संसार भरि छरिएर बसेका प्रोफेसनल हरु लाई सोधिएको थियो, “तपाईलाई अहिले जति नै तलब दिएमा आफ्नो देश फर्कनु हुन्छ कि हुँदैन ?”, ९९% ले भने, फर्कन्छु । पैसा मात्र त सबै कुरा होइन होला तर देशको अर्थतन्त्रले मुख्य भूमिका खेल्छ नै !

विदेशमा सिकेको ज्ञान नेपालमा कत्तिको उपयोग हुन्छ, फर्केर काम गर्न सकिन्छ कि सकिदैन ? मेरो कानुनी हैसियत के हुन्छ ? मेरा पुराना साथीहरु त माथिल्लो ओहोदामा पुगी सकेका छन्, मैले तलै बाट सुरु गर्न सक्छु कि सक्दिनँ भन्ने कुराहरु पनि महत्व राख्दछन् ।

नेपाल फर्कनेको संख्या क्रम

यस शताब्दी को सुरुमा १० मा १ चिनियाँ विद्यार्थी चिन फर्केर जान्थे । सन् २०१७ को तथ्यांक अनुसार १० मा ८ चिनियाँ विद्यार्थी देश फर्केर जान थाले । यस्तो हुनुको कारण अर्थतन्त्र नै हो ।

संसार को दोश्रो धनी देश बन्न पुगेको चिन आज विश्वमा छरिएर रहेका चिनियाँहरुलाई स्वदेश फर्काउन भर मग्दुर प्रयास गरिरहेको छ । चिनको श्रम बजार राम्रो भएको छ । देशले फर्किएर आएका चिनियाँहरुलाई सकेसम्म राम्रो नीतिगत र कानुनी सुविधाहरु दिएको छ ।

संयुक्त राष्ट्र संघले गरेको एक सर्भेक्षण अनुसार गैरआवासिय भारतीयको संख्या संसारमा सबै भन्दा ठुलो छ । सन् २०१५ मा १६ करोड भारतीयहरु विदेशमा बसेका थिए ।

ति भारतीयहरु पनि बिस्तारै स्वदेश फर्किन लागेका छन् । अहिलेको तथ्यांकअनुसार विदेश पढ्न गएका मध्ये ५०% भारतीयहरु देश फर्किन थालेका छन् । अनि यो देश फर्कने प्रचलन चिनमा जस्तै भारतमा पनि बढ्दो क्रममा छ ।

देशको अर्थतन्त्र, फर्केर आएकाहरु लाई, सरल कानुनी सुविधा र अन्य सुविधा दिनु र अमेरिका लगाएत अन्य देशहरुमा भएको कडा इम्मिग्रेशन नीति ले पनि देश फर्कन प्रोत्साहित गरेको छ । नेपालको हकमा अहिले १५% मात्र फर्किने अनुमान गरिएको छ । अनि यो देश फर्कने प्रचलन चिनमा जस्तै भारतमा पनि बढ्दो क्रममा छ ।

नफर्किने कारण अनेकौँ

राम्रो सुविधा, सुविधामुलक जिन्दगी, चाहेको कुरा किन्न सकिने, घर, गाडी, जागिरको अवसर, र व्यक्तिगत आर्थिक स्थिरता आदि देश नफर्किने कारणहरु मध्ये हुन् ।

छोराछोरीको शिक्षा, श्रीमती फर्कन नमान्ने, आदि कारण पनि छन् । आफन्तहरु र देशलाई अलिकति भए पनि सहयोग गर्न मौका मिल्छ । यी कुराहरुले विदेश आएर ठिकै गरेछु भन्ने पनि लाग्छ । आफूलाई मन परेको कुराहरु किन्ने र गर्ने क्रममा समय बितेको पत्तै हुँदैन ।

विदेशमा बस्दै गएपछि त्यहीँ बस्नको लागि कागज पत्र (जस्तै ग्रीन कार्ड) बनाउन थालिन्छ अनि त्यसको लागि वर्षौँ लाग्छ । त्यस समयमा नेपाल फर्कन पनि गाह्रो हुन सक्छ ।

शरणार्थीमा निवेदन दिएको छ भने त नेपाल फर्कनै पाइन्नँ । एक दुइ वर्षपछि फर्कने भन्दा भन्दै दशक बितेको पत्तै हुँदैन । विदेशमा सायद व्यस्त भएर होला, समय बितेको पत्तो नै हुँदैन ।

छोरा छोरीलाई कलेज पठाएर नेपाल फर्कन्छु भन्ने हरु, अथवा नाती नातिनीको मायाले फर्किन सकेको छुइन भन्नेहरु पनि प्रशस्त भेटिन्छन् । आफ्ना बुढाबुढी भएका आमा बाबुको स्याहार गर्न अब म चाँडै फर्कन्छु भन्दा भन्दै बाबु आमा स्वर्गबास भई सकेका हुन्छन् ।

केहि वर्ष अगाडि सम्म विदेश छोडेर नेपाल आउनेलाई यसको बुद्धि बिग्रेछ भनिन्थ्यो तर आज त्यो अलि बद्लिएको छ । धेरै आमा बुबा पनि, आफ्ना छोरा छोरी फर्के हुन्थ्यो भन्न थालेका छन् ।

थोरै भए पनि दुई दिने जिन्दगी रमाएर बिताउँ भन्ने भावना पनि प्रखर हुन थालेको छ धेरै परिवारहरुमा । छोरा छोरीको विदेश को दुख देखेर अनि नेपलमा पनि पहिले भन्दा अहिले धेरै कुरामा सुधार आएकोले सोच विचार बदलिएको होला ।

केहि महानुभावहरुले ६ महिना नेपाल ६ महिना विदेश बस्ने पनि सोचेका छन् । सोचेजस्तो कहाँ हुन्छ र ? आफू अवकाश प्राप्त हुँदा ६५/७० वर्ष काटी सकेको हुन्छ ।

आफूले चिनेका साथीभाई नेपालमा भन्दा विदेशमा नै बढी हुन्छन् । बिसौँ वर्ष विदेशमा बसीसकेपछि साथी भाई, र समाजप्रति लगाव बन्ने नै भयो । नेपालका पुराना साथी पनि आआफ्नै बाटो लागि सकेका हुन्छन् ।

कति लाई त आफन्त र साथी भाईसँग के कुरा गर्ने भन्ने समस्या पर्न सक्छ वा कुरा नमिल्न सक्छ । त्यो उमेरमा विदेशमा पाइने सोसिअल सेकुरिटि र मेडिकलको पनि खाँचो पर्छ । पछि पछि त लामो जहाजको यात्रा गर्न नसकेर विदेशमा नै बस्न बाध्य हुनु पर्छ ।

त्यही मान्छे नेपालमा बसेको भए, विदेश जान पनि सकिएन भनेर गुनासो गर्थ्यो । विदेश गएको मान्छे विदेश आउन ठीक गरेँ कि गरिनँ भनेर जिन्दगी भर सोच्दछ ।

त्यसैले होला अंग्रेजीमा भनिन्छ “ग्रास इज अलवेज ग्रिनर अन दि अदर साइड अफ दि फेन्स” जहाँ भए पनि हरेक दिन खुशी भएर अनि रमाएर बस्नु पर्ने हो ।

देश बनाउन सहयोग गरौँ

निकट भविष्यमा देश फर्कने सम्भावना कम देखिएपछि, देश बनाउन अझ धेरै सहायोग पो गर्ने हो कि ? त्यसो त व्यक्तिगत रुपमा आफूले सकेसम्म धेरैले सहयोग गरेकै छन् ।

आफ्नो गाउँको स्कुलमा छात्रवृति अथवा कम्प्युटर दिनेदेखि लिएर, नेपालमा पर्ने आपत्ति विपत्ती हरुमा सहयोग हुँदै आएको छ ।

२०१५ को भुइँचालोमा देखिएको सहयोग उदाहरणीय नै छ । बाढी र पहिरो आउँदा, शीतलहर पर्दादेखि लिएर, बिरामीहरुलाई उपचारार्थ खर्च पनि मन खोलेर दिने गरेको छ । केहि अरु साथीहरुले विकासको काममा लगानी पनि गर्दै आएका छन् ।

देशमा उपयुक्त, व्यवस्थित, र विश्वासिलो वातावरण भएमा यस्तो सहयोग बढ्ने सम्भावना छ । २०१५ मा अमेरिकाका धेरै संघ संस्थाले उठाएको पैसा नेपालमा कसलाई पठाउने भन्ने वाद विवाद भएको थियो ।

नेपाल सरकारलाई दिने कि नदिने ? दियो भने पैसाको सही उपयोग हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेका थिए । गैर सरकारी संस्थालाई पनि कसलाई विश्वास गर्ने कसलाई विश्वास नगर्ने भन्ने सङ्कट आएको थियो ।

व्यवस्थित र विश्वसनीय संघ संस्था वा सरकारी निकायले उपयुक्त वातावरण एवम सरल नियम र प्रकिया बनाएमा मन खोलेर आर्थिक सहयोग गर्न इच्छुक महनुभावहरुको कमी छैन ।

आर्थिक सहयोग मात्र होइन कि आफुले जानेको सीप र कला पनि देशलाई दिन पाए हुन्थ्यो भन्नेहरु पनि प्रशस्तै छन् । नेपाल गएको बेलामा नेपाललाई चाहिएको जनशक्ति आधा दिन वा १ दिन दिन सके पनि धेरै ठुलो सहयोग हुनसक्छ ।

विदेश मा बसेर पनि धेरै सहयोग गर्न सकिन्छ । सहयोग दिन इच्छुक हुँदा हुँदै पनि, कहाँ कसलाई के चाहिएको छ अनि कसलाई कसरी सम्पर्क गर्ने भन्ने समस्या आउँछ ।

नेपालमा चाहिएको आवश्यकता र विदेश मा भएको नेपालीको विशेषज्ञताबीच तालमेल हुनु जरुरी छ । भर्खरै पररास्ट्र मन्त्रालयले सुरु गरेको “ब्रेन गेन” कार्यकम ले यस दिशामा सकारात्मक भूमिका खेल्ने आशा गर्न सकिन्छ ।

यस्तो सहयोग राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायत व्यापार अनि विज्ञान प्रविधि आदि क्षेत्रमा पनि गर्न सकिन्छ ।

मैले जीवनमा खुब मेहनत गरेँ, सफल पनि भएँ, आफ्नो लागि गरेँ, आफ्नो परिवार र आफन्तको लागि गरेँ, अब देश र समाज को लागि केहि गर्नु पर्छ भन्ने अनुभूतिले ओतप्रोत नेपालीहरुले विदेशमा बसेर पनि नेपालको विकासमा होस्टे मा हैंसे लगाउन सक्छन् ।

देश फर्केर सिंगो देशनै बदल्छु भन्ने भावना बोक्दा बोक्दै उमेर ढल्केको पत्तो नै हुँदैन । त्यसैले समय छँदै देश बनाउन सहयोग गरौँ । सहयोग गर्ने वातावारण बनाउँ ।

डा. चन्द्र गिरी अमेरिकन वातावरण मन्त्रालयको रिमोट सेन्सिङ्ग विभागका चिफ छन् ।

प्रतिक्रिया
सम्बन्धित