
काठमाडौं, १७ माघ । वैदेशिक रोजगारीको खोजीमा खाडीलगायतका मुलुकमा पुग्दा अलपत्र परेका पीडित नेपालीको समस्या समाधानका लागि नेपाल प्रहरीले ‘एएचटीबी भिक्टिम सपोर्ट एन्ड कोअर्डिनेशन सेल’ सक्रिय बनाएको छ ।
नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले वैदेशिक रोजगारीका लागि जाँदा ठगिने नेपालीको सहयोगका लागि प्रहरीसँग सिधा पहुँचका लागि यो सेल स्थापना गरेका थिए । यो सेलले २४ घन्टा नै सेवा दिने प्रहरी अधिकारीहरूले बताएका छन् ।
‘विदेश लगिदिन्छु भनेर ठगी गरेका वा विदेश पु¥याएर पीडामा पारिएका नेपाली श्रमिकको गुनासो सुन्ने, सिधा उजुरी दिन सक्ने व्यवस्थाका लागि यो सेलको स्थापना गरिएको हो’, आईजी खनालले भनेका छन्,‘हटलाइनसम्मको सुविधा भएका कारण पीडितले न्याय खोज्नका लागि प्रहरीको सिधा सम्पर्कमा आउन सक्ने वातावरण हुन्छ ।’
समाचार माध्यम, सामाजिक सञ्जाललगायतका अलपत्र परेका, ठगिएका गुनासा ज्यादा आउन थालेपछि प्रहरीमा केन्द्रिकृत गरी पीडितको सहयोगका लागि स्थापना गरिएको उक्त सेलको ११७७ नम्बरको हटलाइनमा सिधा उजुरी गर्न सकिने व्यवस्था छ ।
‘अहिले सर्वसाधारण सम्पर्कमा आउन सकेका कारण कतिपय ठगी गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकाय अथवा अदालतसम्म पु¥याउन सजिलो भएको छ’, प्रहरी अधिकारीहरू भन्छन् ।
यति मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने विविध प्रकारका समस्या समाधानका निम्ति पनि प्रहरीले सक्रियता देखाएको छ ।
खासगरी इन्टरपोलको स्टोलेन एन्ड लस्ट ट्राभल डकुमेन्ट (एसएलटीडी) जडान भएयता एक लाख ९६ हजार ७७१ वटा हराएका, चोरी भएका राहदानीहरूको पनि अभिलेख रहेको छ ।
‘यसले समस्यामा परेका पर्यटक वा व्यक्तिका लागि सहज भएको छ । यो डाटाबेस जडान भएपछि प्रहरीलाई काम गर्न सजिलो पनि भएको छ’, विमानस्थलमा कार्यरत प्रहरी अधिकारी भन्छन् ।
त्यसो त खाडी क्षेत्रका अधिकारीसँग पनि आईजी खनालले सुरक्षा विषयमा समझदारी गरेका थिए । खनाल र कतारका नागरिक सुरक्षाका महानिर्देश सइद बिन वसिम अल खुलाईफिबीच सुरक्षा सहयोगसम्बन्धी समझदारी भएको थियो ।
‘धेरै भन्दा धेरै नेपाली कतारमा रहेका कारण यो समझदारीले त्यहाँको सुरक्षा र नेपाल आउने कतारीको पनि सुरक्षाका विषयमा सहयोग हुने विश्वास लिइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।











प्रतिक्रिया