बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपा एकीकरण समस्याबारे प्रचण्डले खुट्याएको मुख्य कारण

दैनिक नेपाल २०७६ माघ १७ गते १०:२२

काठमाडौं, १७ माघ । नेपाल कम्युनिस्ट पार्टीको एकीकरणमा अझै समस्या रहेको कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्टैसँग खुट्याएका छन् ।

राष्ट्रिय सभा गृहमा जारी केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले एकीकरण भए पनि भावनात्मक रुपमा हुन नसकेको उल्लेख गरेका छन् ।

यहि मुख्य कारण रहेकाले पनि पार्टीभित्र गुट र उपगुट विभिन्न हिसाबले चलायमान रहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न नेताका गुट र उपगुट सक्रिय रहेका कारणले पनि पार्टीका कार्यक्रम प्रभावित भएका छन् । एकीकरण भए पनि भावनात्मक एकीकरण हुन सकेको छैन, प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरूमा प्रचण्डको स्पिरिट छ ।

पार्टीका सिद्धान्तको विषय, अनुशासनमा पनि कमजोरी रहेका कारण उपनिर्वाचनमा तीनै तहमा ठेस लागेको प्रतिवेदनमा उल्लेख छ । प्रशिक्षण कार्यक्रम सबलताका साथ नलगेको कमजोरी स्वीकार गरेका प्रचण्डले उम्मेदवार चयनमा पनि गल्ती भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सरकारका कामकारबाहीका विषयमा जनतामाझ व्यापकताका साथ प्रचार हुन नसकेको जिकीर गरेका उनले अब संगठनात्मक संरचना र भावनात्मक एकता कायम गरी तल्लो तहसम्म जानुपर्ने सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित