बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

नेविसंघ अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा मनोज र महेश्वरी चयन

दैनिक नेपाल २०७६ माघ १६ गते १३:२०

काठमाडौं, १६ माघ ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् ।

समितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरले जिम्मेवारी पाएका छन् । २०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवाले ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका हुन् ।

। तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । नेविसंघमा सभापति देउवा पक्षबाट सभापतिसहित २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् । यता कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् ।

यता, नेविसंघका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ ।

१२ औं मधिवेशनसम्म नेवि संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने दिइएको छ । तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।

तर ११ औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेवि संघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।

विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो । केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा ४० दशकमा हिडिरहेका ढुंगाना चयन भएका छन् ।

३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहेका छन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट अध्यक्ष जिते पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न भने सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित