
सुर्खेत, १६ माघ । टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था तनावग्रस्त रहेको छ । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् ।
विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बुधबार साँझ मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएको बताए ।
उनका अनुसार टिपरधनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भएको थियो । मृतकको आजसम्म पोष्टमार्टमसमेत हुन सकेको छैन ।
कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहको जुम्लारोडमा मंगलबार बिहान टिपरले हानेर मृत्यु भएको थियो ।











प्रतिक्रिया