काठमाडौं, १६ माघ । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइँदै आएको छ ।
वासन्त पञ्चमीका नामले समेत चिनिने पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी विद्यार्थीले पूजा गर्ने चलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु शुरू हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो ।
श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने गरिन्छ । यही दिन केटाकेटीको नाककान छेड्न पनि उत्तम मानिन्छ । यस दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक आफ्ना कला साधनाका वस्तु कलम, कापी, किताब र वाद्ययन्त्रलाई पूजा गर्ने गर्दछन् ।
सरस्वती पूजाको दिनमा देशभरका विद्यालयमा सरस्वती पूजाआजा हुने गरेको छ । कतिपय विद्यालयले यही दिनको अवसर पारी भर्ना अभियान पनि शुरू गरेका छन् ।
यस दिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ । आज शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा पनि लिने गरिन्छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी रगैरीधारास्थित नीलसरस्वती तथा ललितपुर लेलेको सरस्वती कुण्डलगायत जिल्लामा रहेका मन्दिरमा श्रीपञ्चमीका बिहानैदेखि पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।
तिलेश्वरनजिकैको कुण्डमा भक्तजनका लागि भनेर अघिल्लै दिनदेखि व्यवस्था गरिएको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतना ज्योति पाइने विश्वास छ ।
यसैगरी, पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचनसहित श्रवण गर्ने प्रचलन छ ।
वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति विद्या भण्डारीले वसन्तपुर गई वसन्त श्रवण गर्ने कार्यक्रम छ । यसका लागि हनुमानढोकामा तयारी भएको काठमाडौं जात्रा समिति अध्यक्ष राजन महर्जनले जानकारी दिएका छन् ।











प्रतिक्रिया