बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

करोडौं ठग्ने गजमरेको जेल पनि बन्यो ‘अखडा’

दैनिक नेपाल २०७६ माघ १४ गते १२:४३

काठमाडौं, १४ माघ । पैसा भएपछि जेलमा पनि अवैध ढंगका सुविधा लिन कसलाई पो बञ्चित छ र ? भीआईपीले राज्यसत्ताको बलमा सुविधा लिन्छन्, ठगी गर्नेले मोटो रकमको सेटिङमा भनेजस्तो मोजमस्ती गर्ने मौका पाउँछन् ।

डिल्लिबजारस्थित सदरखोरमा रहेका एक ‘ठग’को यहि चर्तिकला उदाङ्गो भएको छ ।

माइ इन्भेष्टमेन्ट कम्पनीको नाममा करोडौं ठगी गरी पूर्पक्षका लागि जेल चलान भएका अनिल गजमेरका लागि सदरखोर सजाय काट्ने ठाउँ होइन, सेटिङ मिलाउने अखडा भएको स्रोतहरूले दाबी गरेका छन् ।

कारागार व्यवस्था बिभागले कैदी बन्दीलाई एक घरको परिवारबाहेक अन्य व्यक्तिसँगको भेटघाट नै बन्द गरेका बेला गजमेरलाई त्यस्तो असुविधा छैन । दिनहुँ जसो अदालत सेटिङ गर्दिन्छु भन्दै दलाल र माफियाहरूको जमघट कारागारमा हुने गरेको रहस्य खुलको हो ।

त्यसो त शक्ति भएपछि जे पनि हुन्छ, जेलमा भन्ने पछिल्लो उदाहरण त हत्या अभियोगमा पूर्पक्षमा नै रहेका समिरमानसिंह बस्नेतसँग गृहमन्त्री रामबहादुर थापा बादलका भाई….थापाको भेट पनि एउटा उदाहरण नै थियो ।

जेलर र सुरक्षामा खटिएका प्रहरीको सेटिङमा गजमेरको भेटघाट सहज बनाईएको आरोप लागेको छ ।

यहाँसम्मकी कारागारले दिने भन्दा बढी सुबिधा लिँदै आएको विरोधमा बन्दीले आवाज उठाएमा तत्काल उसलाई कारवाही स्वरुप अन्य जेल पठाउनेसम्मको मात्र होइन सामान्य सुबिधा समेत बन्द गर्ने सक्ने क्षमता गजमेरले राख्दै आएको बताइन्छ ।

जिल्ला अदालत काठमाडौंमा विचाराधिन अबस्थामा रहेको मुद्दाबाट सफाई पाउन अहिले गजमेरले केही दलाललाई लगाएका छन् ।

गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगीको मुद्दा बिचाराधिन अबस्थामा छ । २०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका थिए ।

कास्कीका भुषालजंग कुँवरको मात्र गजमेरले ७० लाख २३ हजार रुपैयाँ ठगी गरेको अभियोग छ । त्यस्तै सिन्धुलीका लोकहरी पौडेलको ४५ लाख ५१ हजार रुपैयाँ, वीरबहादुर गुरुङको ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन् ।

झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष समेत रहेका गजमेर अहिले मुद्दा पुर्पक्षको लागि डिल्लीबजार कारागार छन् । बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो ।

गजमेरको कम्पनीले रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा जानकारी गराएका थिएनन् । माई इन्भेस्टमेन्ट लिमिटेडको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको थिएन ।

कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरूलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । राष्ट्र बैंकको इजाजत समेत नलिइ विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको समेत अनुसन्धानबाट खुलासा भएको थियो ।

यस विषयमा अन्तिम फैसला आएको छैन । तथापी पूर्पक्षका लागि जेलमा रहँदा गजमेरको रवाफ देखेर जो कोही छक्क परेका छन् । जेलमा उनको यो रवाफबाट आजित हुनेहरु पनि कम छैनन् ।

प्रतिक्रिया
सम्बन्धित