१ कार्तिक २०८३, आइतबार

झापा तोरीमा आत्मनिर्भर हुँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, १३ माघ । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो । सो वर्ष दुई हजार ६०० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

चालु आव २०७५/७६ मा तीन हजार हेक्टरमा लगाइएको तोरी खेतीबाट चार हजार ५०० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रक्षेपण छ ।

चार हजारभन्दा बढी मेट्रिक टन तोरीले जिल्लालाई आत्मनिर्भर बनाउने भएकाले यसबाट अर्थतन्त्रमा अत्यन्त सकारात्मक योगदान पुग्ने प्राविधिक पौडेलको भनाइ छ ।

झापाका १५ वटै स्थानीय तहमा तोरी खेती हुँदै आएको छ । त्यसमध्ये मेचीनगर, हल्दिबारी, अर्जुनधारा, केचना, शिवसताक्षी र कनकाईमा प्रायः सबै गाउँबस्तीमा तोरी खेती लगाइने गरिन्छ ।

नेपाल सरकारको नीतिअनुसार झापाको ज्ञान केन्द्रले हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकालाई तोरीको पकेट क्षेत्र घोषणा गरेको छ ।

त्यहाँका किसानलाई सङ्गठित गरेर तोरीखेतीमा प्रोत्साहित गर्न ज्ञान केन्द्रबाट रु आठ लाखका दरले अनुदान दिइएको प्राविधिक पौडेलले जानकारी दिनुभयो ।

कृषि प्राविधिक खिरबहादुर श्रेष्ठका अनुसार बलौटे र दोमट माटोमा तोरी खेती फस्टाउँछ । श्रेष्ठ आफैँले शिवसताक्षी नगरपालिका–२ धरमपुरमा दुई बिघा जमीनमा विगत पाँच वर्षदेखि तोरी खेती गर्दै आएको बताउनुभयो ।

अर्जुनधारा निवासी संविधानसभा सदस्य प्रेम गिरीले आफूलाई वर्षभरि पुग्नेगरी तोरी खेती गर्दै आउनुभएको छ । बुद्धशान्ति–७ का किसान खगेन्द्र उप्रेतीले सुपारी बारीभित्र समेत तोरी खेती गर्नुभएको छ ।

विगतमा बाँझो रहने गरेका खेतमा किसानले उन्नत प्रविधि प्रयोग गरेर खेती गर्न थालेपछि गाउँहरु यतिबेला तोरी फुलेर पहेलपुर भएको देखिन्छन् ।

“पहिला बाँझो देखिने जमीनमा यतिबेला तोरी फुलेर पहेंलपुर छ”, प्रविधिक श्रेष्ठ भन्नुहुन्छ, “विगत १० वर्षयता झापामा तोरी खेतीको व्यापक विस्तार भएको छ, अब भारतबाट तेल खरिद सायदै गर्नुपर्दैन ।” सहकारी संस्थासमेत तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

गौरादह–६ मा महारानी झोडा कृषि सहकारी संस्थाले चार बिघा जमीनमा तोरी खेती गरेको छ ।

महिलाले मात्र सञ्चालन गरेको सो सहकारीले त्यहाँ उत्पादन भएको सबै तोरी उन्नत बीउका लागि भएको संस्थाकी अध्यक्ष मीना ढकालले बताउनुभयो । विगत तीन वर्षदेखि तोरीको बीउ उत्पादन गरिरहेको सहकारीको उत्पादित वस्तुको ग्रेडिङ उद्योेग पनि छ ।

“बीउको ग्रेडिङ गरेर बजार पठाउँछौँ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित तोरीको बीउ इलाम, मोरङ, सुनसरी, सिरहा र सप्तरीसम्म माग हुने गरेको छ ।” –रासस