बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

इसेवा ११ औँ वर्षमा प्रवेश, यस्तो रह्यो संघर्ष र सफलताको एक दशक

इसेवामा खाता खोल्नेको संख्या करिब ३० लाख, एक करोड भन्दा बढीले लिन्छन् इसेवाका सेवा

दैनिक नेपाल २०७६ माघ १२ गते १५:०२

काठमाडौँ, १२ माघ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ ।

एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।

दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो ।

कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् ।

आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यस्तो छ इसेवाको दशवर्षे संघर्ष र सफलताको उतारचढाव

सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन ।

इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो ।

सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।

इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्स्को टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले इसेवामार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ ।

यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।

आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा इसेवाले मोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्र्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो ।

२०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा इसेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ ।

यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित