३१ आश्विन २०८३, शनिबार

सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाको गुनासो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ माघ । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यमलगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भएपनि यो सुविधा लिनबाट लक्षित वर्ग नै बञ्चित भएको उनीहरुको गुनासो थियो ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपियाँसम्म ऋण पाउने व्यवस्था छ ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि पाँचदेखि छ प्रतिशतसम्म ब्याज अनुदान दिने भनिएको छ तर यसको कार्यान्वयन पाटो नाजुक भएको उनीहरुको भनाई थियो ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले महिला उद्यमीहरुको लागि ऋण लिन खोजेको र आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिना भन्दा बढी समयदेखि राष्ट्रिय वाणिज्य बैंकले ८० वटा ऋणको फाइल रोकेर राखेको बताए ।

महासंघ र वाणिज्य बैंकले सहुलियत पूर्ण कर्जा लिनको लागि चार महिना अघि दुई पक्षबीच सम्झौता गरिसकेको जानकारी दिंदै उहाँले सहुलियत ऋणका लागि बैंकले मागेका आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिनादेखि ऋण दिने हो वा होइन कुनै टुंगो नलागेको बताए ।

महासंघ र बैंकबीच सम्झौता गर्दा बैंकको आधार मूल्यमा सरकारले दिने सहुलियत बाहेक बैंकले १.३८ प्रतिशत थप लिन सक्ने उल्लेख भएपनि वाणिज्य बैंकले ऋण दिनुको साटो सबै कागजात पुग्दा पनि बेवास्ता गरेकाले त्यो ऋण लिने वा नलिने भन्नेमा महिला उद्यमीहरुमा अन्यौलता सिर्जना भएको उनले बताए ।

पूर्ण सरकारी स्वामित्वको वाणिज्य बैंकले नै समयमा ऋण नदिएका कारण साना उद्योगीहरु अब ऋण लिनको लागि निजी बैंकहरुमा जान बाध्य भएको उनको भनाई थियो ।

नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपियाँ लगानी रहेको जानकारी दिंदै कार्यवाहक अध्यक्ष सिंहले भने, ‘यसरी साना तथा घरेलु उद्योगहरु फस्टाइ रहेका छन्, अर्थतन्त्रमा पनि योगदान गरिरहेका छन् । तर समयमा बैंकले ऋण नदिँदा समस्या सिर्जना भइरहेको छ ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई कारवाही गर्ने भन्दै बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा नदिएका कारण बैैंक तथा वित्तीय क्षेत्रलाई नै संख्या तोकिदिएको बताए ।

उद्यमशीलता विकासमा महिलाहरुको योगदान बढी होस् भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएको छ त्यसको फाइदा लिनुस । बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारवाही गर्छ ।’

१५ लाख रुपियाँसम्मको कर्जामा कुनै पनि धितो राख्न नपर्ने भन्दै उहाँले बैंकको कष्ट अफ फण्डमा २ प्रतिशत मात्रै मुनाफा जोडेर बैंकले ब्याज निर्धारण गर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंकको ६.३ प्रतिशत कष्ट अफ फण्ड रहेको र बैंकले २ प्रतिशत थपेको खण्डमा सवा ८.३ प्रतिशत ब्याज हुने भन्दै डेपुटी गर्भनर शिवाकोटीले भने, ‘त्यो ब्याजमा सरकारले ५ प्रतिशत तिर्छ । ऋणीले ३.६ प्रतिशत तिरे पुग्छ । महिला उद्यमशीलताको लागि ऋण लिएको हो भने सरकारले ६ प्रतिशत तिर्छ, तपाईले सवा २ प्रतिशतको हाराहारीमा ऋण पाउनु हुन्छ ।’

बैंकले दिएको सहुलियत पूर्ण कर्जाले महिला उद्यमशीलतामा लाग्ने, उनीहरुले उत्पादन गरेका सामान निर्यात हुने र विदेशी मुद्रा आर्जन गर्न सक्ने भन्दै उनले भने, ‘बैंकबाट ऋण लिएका मान्छेले कृषिमा ऋण लिने भन्ने अनी त्यो पैसाले जग्गा किन्ने, त्यसमा धान रोप्ने, पछि त्यो बेच्ने गरेको पाइयो । कतिपयले बाख्रापालन गर्ने भनेर भनेका छन् । ५ वटा बाख्रा, २ भैसी पालेर मुलुकमा समृृद्धि आउँदैन ।’

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपालले खासगरी हाल कायम रहेका उद्योगहरुलाई संरक्षण गर्ने कार्यक्रमहरु त्यति प्रभावकारी रुपमा सञ्चालन नगरेको अनुभव भएको भन्दै अष्ट्रेलिया सरकारले नेपालको उद्योग मन्त्रालयसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताए ।

नेपाल जस्तो विकासोन्मुख देशमा भएका आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउने उद्योगहरुको सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सहयोगलाई प्राथमिकतामा राखेको उनले बताए ।

एकदिने कार्यशाला गोष्ठीमा विभिन्न विज्ञहरुले नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरुका विषयमा केन्द्रित रहेर आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।