बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गुन्डागर्दी पृष्ठभूमी, राजनीति कर्मकाण्डी

दैनिक नेपाल २०७६ माघ ११ गते १३:४१

काठमाडौं, ११ माघ । मनाङ प्रदेश सभाबाट बिजयी भएका राजीव गुरुङ उर्फ दिपक मनाङेको पृष्ठभूमी आम मानिसलाई जानकारीमा छ । कुनै बेला काठमाडौंमा रहेका दुई वटा गुन्डागर्दीको समूह मनाङे र मिलन गुरुङ (चक्रे)को चर्चा थियो ।

अहिले नेपालमा फैलिएका थरी–थरीका झुन्डमा यी दुवै समूहमा हिँडेकाहरूको प्रभुत्व रहेको छ । जसले नेपालका व्यापारीक घराना हुँदै आफैं पनि व्यापारसहित राजनीतिमा प्रभावकारी पहुँच राख्न थालेका छन् ।

यस्तो पहुँचको पछिल्लो उदाहरण मनाङेले मुक्का हानेका कास्कीका अर्का गुन्डागर्दीमा सक्रिय तर अखिल नेपाल फूटबल संघ एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङ पक्राउ पर्नु पनि हो । उनको पनि गुन्डागर्दी ज्यादा नै रहेको प्रहरीको रेकर्डमा फेला परेको छ ।

चर्चामा आएका केहीलाई भने प्रहरीले परिस्थितिजन्य अवस्थामा इन्काउन्टर पनि गरेको थियो । राजनीतिमा धादिङ क्षेत्रमा तत्कालिन एमालेका सदस्य रहेका दिनेश अधिकारी (चरी) इन्काउन्टरमा मारिए । कांग्रेसमा सक्रिय रहेका कुमार श्रेष्ठ घैंटे पनि इन्काउन्टरमा नै मारिए । यी दुवैको इन्काउन्टर त्यसबेला अपराध महाशाखामा रहेका हालका एआईजी पुष्कर कार्की र आईजी सर्वेन्द्र खनालको नेतृत्वमा भएको थियो ।

यहि समूहको फेरो समात्ने, झुन्डमा सहभागी रहेका कतिपय अहिले पनि राजनीतिक सदस्यता, चन्दा दिएको, नेतालाई खर्च गरेको भरमा कर्मकाण्डी राजनीतिमा सक्रिय रहेका छन् । यस्ता व्यक्तिले सत्तामा ओहोरदोहोर गर्ने नेकपा अथवा कांग्रेसको सदस्यता लिने गरेका छन् ।

‘ठूलो छहारी भयो भने राजनीतिमा उक्लिन पनि सजिलो हुने र प्रशासनसँग बाँच्न सकिने भन्ने धारणा पनि छ । अहिले भइरहेको पनि त्यहि छ’, एक पूर्व एआईजी भन्छन्,‘राजनीतिक आडमा आधारमा नै नेपालमा गुन्डागर्दी मौलाएको छ ।’

यति मात्र होइन, कतिपयको प्रहरीका अधिकारीसँग राम्रै उठबस, नेताका छोरा छोरी र चेला चपेटासँग पनि राम्रो सम्बन्ध कायम गरी बालुवा, गिटीदेखि खानीसम्म चलाइरहेको विवरण सार्वजनिक भएका थिए ।

हालका महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेल काठमाडौं प्रहरी परिसर प्रमुख हुँदा नेपाली कांग्रेसमा आवद्ध गणेश लामालाई हातहतियार खरखजाना मुद्दामा पक्राउ गरेका थिए । लामाको पनि एउटा समूह सक्रिय रहेको पृष्ठभूमी छ । उनलाई नेपाली कांग्रेसको छहारी मात्र भएन, प्रदेश सभामा टिकट पनि पाएका थिए । तर, पराजित भए ।

यस्तै, तत्कालिन संविधानसभाका सदस्य तिर्थ लामालाई पनि कांग्रेसको छहारी मिलेको थियो । उनी त नीति निर्माताका रुपमा नै रहेर काम गर्नसम्म भ्याए । ‘तिर्थ लामाको पृष्ठभूमी पनि गुन्डागर्दी, लफडेबाजी नै थियो । उनले राजनीतिक आवरण चाँडो पाए’, प्रहरी अधिकारीहरू भन्छन् ।

त्यसो त तत्कालिन एमालेमा सुजन पौडेल उर्फ रमेश बाहुनलाई प्रवेश गराउँदा ठूलो विवाद निम्तिएको थियो । हाल कारागारमा रहेका बाहुनलाई राजनीतिक आवरण दिनु उपयुक्त नहुने भनी एमालेभित्र विवाद नै खडा भएको थियो ।

‘पार्टीभित्र रहेका कुनै न कुनै व्यक्तिको सम्पर्कका कारणले गुन्डागर्दीमा सक्रिय रहेका व्यक्तिले राजनीतिक आड पाएका छन्’, नेकपाका एक नेता भन्छन्,‘कतिपय नेताहरू चुनावको अघिपछि यस्ता मानिस चाहिने र उनकै बलमा चुनाव जित्न सकिने भ्रम पनि पाल्छन् ।’

त्यसो त कतिपयलाई अवैध हिसाबले सम्पत्ती आर्जन गरेको भनी सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा नै लिएको थियो । केहीले सफाई पाए पनि धेरैको सम्पत्तीमा अहिले पनि विभागको अनुसन्धान जारी मात्रै छैन, निगरानी पनि जारी रहेको छ ।

मूलधारका मात्र होइन, क्षेत्रीयताका आधारमा राजनीति गर्ने दलमा त झन् आपराधिक गतिविधिमा संलग्नहरूकै सहभागीता बलियो हुने गरेको देखिएको थियो । पहिलो संविधानसभामा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा थिए, बबन सिंह । यस्तै हालको राजपामा रहेका संजय साह (टक्ला)ले त बम विस्फोटको अभियोगमा अहिले मुद्दा खेपिरहेका छन् ।

राजनीतिक शास्त्रीहरूका अनुसार जबसम्म दलमा आपराधिक पृष्ठभूमी भएका व्यक्तिको संलग्नता र सहभागीता हुन्छ तबसम्म सङ्लो राजनीति बन्न समय लाग्छ । यस्ता विषयमा दलैपिच्छेका नेताले ध्यान दिनुपर्ने उनीहरूको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित