
इनरुवा, १० माघ । सुनसरीको गढी गाउँपालिकाले आफ्नो वडाहरुको योजना तथा निर्माणमा गुणस्तरका लागि गाउँ तथा वडाका उपभोक्ता समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण दिएको छ ।
गढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गर्ने विभिन्न योजना, बाटोघाटो, मन्दिर, पुल, कल्भट सहितमा गुणस्तर कायम गर्ने, काममा पारदर्शिता गर्नका लागि गाउँ तथा वडाका गठन भएको उपभोक्ता समितिलाई अभिमुखिकरण गोष्ठी मार्फत प्रशिक्षण दिएको हो ।
गढी गाउँपालिका वडा नं ५ र ६ मा एकसाथ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सतैरझोरामा ५ नम्बर वडाका अध्यक्ष सुगना झागडको अध्यक्षतामा उपभोक्ता समिति संचालन अभिमुखिकरण गोष्ठी सम्पन्न भएको वडा सचिव श्यामकुमार साहले जानकारी दिए ।
कार्यक्रममा गढी गापाका आर्थिक प्रशासन शाखा प्रमुख दिलबहादुर खड्का, योजना शाखा प्रमुख योगराज निरौला, सव ईन्जिनियर विरेन्द्रकुमार चौधरी लगायतकाले प्रशिक्षण गरेका थिए ।
सहभागीहरुलाई तीनै जना प्रशिक्षकले उपभोक्ताहरुलाई काम गर्ने तरिका, समितिको काम, कतव्र्य अधिकार, भुक्तानी प्रकृया लगायतका विषयमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा ९ वटा उपभोक्ता समितिका २७ जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच गढी ६ मा समेत उपभोक्ता समितिका लागि पनि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वडा सचिव शिवदयाल साहले जानकारी दिए ।
कार्यक्रममा ९ वटा उपभोक्ता समितिका ५० जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम गढी ६ का वडा अध्यक्ष बन्दुलाल सरवरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।















प्रतिक्रिया