३१ आश्विन २०८३, शनिबार

‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउनु सबैकाे दायित्व हाे’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० माघ । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रबार विहानदेखि सुरु भएको कर्णाली प्रदेश विकास परिषदको बैठक सकिएको छ ।

परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।

बैठकमा सहभागी परिषद सदस्यहरुले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मुलभुत रुपमा सही भएपनि अझै वस्तुनिष्ठ बनाउन सुझाव दिएका छन ।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद सदस्यहरुले आधार पत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ जना परिषद सदस्यहरुले सुझाव राखेका थिए ।

बैठकमा बोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउने दायित्व सबैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेण्डामा सबैको एकता आवश्यक भएको बताउँदै रचनात्मक रुपमा अघि बढनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापुर्वक लागेको वताउदै ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताउँदै जिल्ला सदरमुकाम सम्म सडक नै नपुगेको बेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा राखे ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको शुक्रबार सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।