
काठमाडौँ, १० माघ । जबरजस्ती करणी तथा बैकिङ्ग कसूरका फरार अभियुक्तहरु पक्राउ परेका छन् । भक्तपुर जगातेकी एक युवतीमाथि जबरजस्ती करणीको आराेपी पुर्ण बहादुर खड्का तथा बैंकिङ्ग कसूरका राजेश दाेषी बमलाई केन्द्रीय अनुसन्धानको टोलीले पक्राउ गरेकाे हाे।
जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले खड्काविरुद्ध २०७५ कात्तिक २६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । ओखलढुंगाकाे सिंहदेवी गाविस वडा नं. ७ घर भई हाल भक्तपुर सिपाडोल ६ बस्ने खड्का फैसलापछि फरार भएका थिए ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले माघ ९ गते भक्तपुर सुर्यविनायकबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डील्लीबजार पठाएको छ ।
खड्काले २०७२ फागुन २१ गते साँझ एक १५ वर्षीय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयाँ दिई ललाई फकाई गरी सुर्यविनायकस्थित सिपाडोल आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
त्यस्तै, विकास थापाले राजेश वमविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए । आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै माछापुच्छ्रे बैंक न्यूरोड शाखामा रहेको खाताबाट विकाश थापाले भुक्तानी पाउने गरी ३ लाख ५० हजार रुपैयाँको चेक काटेर दिएका थिए ।
बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ भदौ ३० गतेको फैसलाले विगो बमोजिम ३ लाख ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय हुने ठहर गरेको थियो । बम भने फरार भएका थिए ।
कन्चनपुरको शुक्लाफाटा न.पा. वडा नं. ९ घर भई जिल्ला काठमाडौं का.म.न.पा. १२ कलंकी बस्ने ३० वर्षीय राजेश बमलाई केन्द्रीय अनुसन्धानको टोलीले यही माघ ८ गते कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउपछि फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरी केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाईएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया