शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मन्त्रिपरिषद् बैठक: जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बेच्न स्वीकृति

दैनिक नेपाल २०७६ माघ ९ गते १६:३९

काठमाडौं,९ माघ  । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

निर्धारित समयमा बस किनेर चलाउन नसकेको भन्दै साझालाई दिइएको ३ अर्ब रुपैयाँ रकम उपलब्ध गराइएको समयदेखिको ब्याज सहित फिर्ता लिने निर्णय गरेको हो ।

२०७६ को असार २४ र २९ गतेको निर्णयबाट साझा यातायातलाई ३ सय वटा विद्युतीय बस किन्न सरकारको तर्फबाट शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गर्न पैसा दिइएको थियो ।

अब त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ । वातावरणमैत्री विद्युतीय बस प्राविधिक विवरण लागत अनुमानसहित किन्न भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको उनले बताए ।

यसैगरी सरकारले जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बेच्न स्वीकृति दिएको छ । भवनको मूल्य निर्धारण गरी बोल कबोलमा मोल बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित