
काठमाडौं, ९ माघ । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला अनुयायी बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी भारत छिरेका छन् ।
केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए ।
सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल-भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँडेका हुन् । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।
उच्चबाट मुद्दाको सुनवाई भएपछि सुनसरी अदालतको आदेश नै रितपूर्वक भएको मान्ने कि बेरितको भन्दै अर्को अन्तिम आदेश गर्ने टुंगो लाग्ने छ ।
बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए ।











प्रतिक्रिया