शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बलात्कार पीडितको जाहेरी लिन मान्दैन प्रहरी, उल्टै धम्काएर पठाउँछ !

दैनिक नेपाल २०७६ माघ ९ गते ११:४७

भैरहवा, ९ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका–५, पिपरहवाकी ३१ वर्षिय माया चमार (परिवर्तित नाम) गत मंगलबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा जबरजस्तीकरणीको जाहेरी दर्ता गर्न पुगिन् । तर प्रहरीले जाहेरी लिएर मात्र राखेको छ, दर्ता गरेका छैन । रोहिणी–४, कदमटोल की ४५ वर्षिय दिनेश बनियाँ (गुप्ता)ले धम्की दिंदै पैसा सापटी मागेर लैजाने र जबरजस्तीकरणी गरेपछि न्यायका लागि प्रहरी ढोका ढक्ढक्याएकी हुन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि उनी विक्षिप्त छिन् ।

‘मेरो श्रीमानले विदेशबाट पठाएको लाखौं रुपैयाँ खाएको छ । उल्टै मलाई जबरजस्तीकरणी गरेको छ । मेरो बच्चालाई मार्दिन्छु भनेको थियो । यसलै मैले सबै विवरण खुलाएर प्रहरीसम्म आएकी हुँ । तर प्रहरीले मुद्दा दर्ता नगरेर मलाई उल्टै पीडा दिने काम गरेको छ’, उनले भनिन् । उनका अनुसार पुस ७ गते बनियाँले चमारलाई जबरजस्तीकरणी गरेका हुन् ।

चमारका श्रीमान् रोजगारीको क्रममा मलेसिया छन् । विदेशबाट पठाएको पैसा पटकपटक गरी बनियाँले सापटी भन्दै २ लाख ६० हजार लगेका छन् । पैसा फिर्ता माग्दा बच्चालाई मारिदिने र आफूलाई जबरजस्तीकरणी गरेको पीडित चमार बताउँछिन् ।

‘मेरो श्रीमान् कमाएर पठाएको पैसा तिम्रो घर बनाउँदा फर्काउँछु भनेर लगेकाे हो । तर अहिले विभिन्न डरधम्की दिएर बनियाँले नामालुम कागज बनाई सहीछाप समेत गराइ उक्त पैसा तिर्नु नपर्ने गराएको छ । पछि मैले कागज गराएको हो भनेर सोध्दा तलाई थाहा छैन र रु उक्त पैसा तँलाई तिरिसकेको कागज छ मसंग भनेर झुक्कायो’, पीडित चमारले भनिन् । उनले पैसा माग्दा उल्टै थर्काउने गरेको जनाइन् । ‘पैसा माग्दा धम्की आउने गलत नजरले हेर्ने र पुस ७ गते साँझ करिब ८ बजेको समयमा घरमा आएर मलाई समाई जबरजस्तीकरणी गरेर गयो’, उनले भनिन् ।

उनका अनुसार त्यस दिन बनियाँले घरमै आएर विदेशबाट भर्खरै घर आएका श्रीमान् र छोराछोरीलाई समेत मारिदिने बताएका थिए । धम्कीपछि उनले चमारलाई समाएर करणी प्रयास गरेका थिए । छोराछोरी र श्रीमान् चिच्याएपछि उनी भागेको चमारले सुनाइन् । एउटी महिलालाई करणी हुँदा समेत प्रहरीले जाहेरी दर्ता नगरेको र सहयोग गर्नुको साटो मलाई उल्टै पीडा दिएको चमारले गुनासो गरिन् ।

चमारले रुँदै भनिन्, ‘जाहेरी लगेर जिल्ला प्रहरीमा ६/७ पटक पुगेँ, उल्टै हामीलाई प्रहरीले धम्क्याए पठाउँछ ।’ त्यस्तै विनयले रोहिणी–४, बिर्नीका ३७ वर्षिय हेत बहादुर थारुकी श्रीमती मिना थारु, छोराहरु १० वर्षी युवराज र ४ वर्षीय मुकेशलाई पुस १७ गते दिउँसो ४ बजे घरमा आएर विभिन्न प्रलोभनमा पारेर भगाए । त्यसयता छोराहरु र श्रीमती हेत बहादुरको सम्पर्कमा छैनन् ।

बनियाँले हेत बहादुरको फेन्सी पसलसमेत विक्री गरेर त्यसको पैसा लगेका छन् । हेत बहादुर रोजगारीको सिलसिलामा मलेसियामा थिए । विदेश रहँदा पठाएको पैसा समेत बनियाँले लगेका छन् । ‘लाखौं रुपैयाँ लगानी गरेर खोलेको फैन्सी पसल बन्द छ, विदेशबाट पठाएको पैसासमेत लगेर श्रीमती र छोराहरु भगाएको छ । प्रहरीलाई खोजी गर्नु भन्दा निवेदन पनि दर्ता गर्दैन्’, पीडित हेत बहादुरले भने ।

उनी श्रीमती र छोराहरु घरमा नभएको थाहा पाए पछि मलेसियाबाट घर फर्किसकेका छन् । माघ ३ गते इलाका प्रहरी कार्यालय र गाउँपालिकामा उजुरी समेत दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा उनको उजुरी दर्ता भएन । प्रहरीले खोजी गर्छौ भन्ने आश्वासन समेत दिएन । ‘श्रीमती लगेपनि मेरा छोराहरुको अवस्था त थाहा हुनुप¥यो । छोरा समेत सम्पर्क नआएपछि अपहरण तथा शरीर बन्धकमा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जाँदा श्रीमती सम्हाल्न नसक्ने भनेर प्रहरीले उल्टै थर्काएर पठायो’, पीडित हेत बहादुरले भने ।

उनले आफूले विदेश रहँदा श्रीमतीको नाममा पठाएको लाखौ रुपैयाँको रसिद सुरक्षित राखेको समेत जनाए । ‘छोराहरुको अपहरण भयो । यति हुँदा पनि प्रहरीले उजुरी दर्ता गरेर खोजबीन गर्नुको सट्टा उल्दै धम्काएर पठाउँछ । ‘हामी कस्तो कानूनी राज्यको अभ्यास गरिरहेका छौं’, उनले भने, ‘प्रहरीको व्यवहारले गर्दा खान मन पनि लाग्दैन । मेरा छोराहरु बनियाँले कतै भारततिर लगेर बेच्यो की । यत्तिका दिनसम्म कुनै सम्पर्क हुन सकेको छैन ।’ जताततै हारगुहार गर्दा समेत प्रहरीले उजुरी दर्ता नगरेर पछि अहिले हेत बहादुर न्यायको खोजीमा भौतारिँदै हिँडेका छन् ।

यी दुइ त उदाहरण मात्रै हुन् । रुपन्देही प्रहरीले यस्ता कयौं घटनामा बेवास्ता गर्दै आएको छ । शक्ति केन्द्रको आडमा प्रहरीले गर्ने यस्ता रवैयाले पीडित झनपछि झन पीडामा बस्न बाध्य छन् । पीडितको उजुरी दर्ता गरेर अनुसन्धान गरी यथार्थ बाहिर ल्याउनुको सट्टा पहुँचवालाको निर्देशनमा प्रहरी चल्दा चमार र हेत बहादुर जस्ता कयौं नागरिकले कानूनी राज्यको आभास समेत लिन पाएका छैनन् ।

कानून व्यवसायी बिना सिंहले पीडितले सप्रमाण जाहेर दर्ता ल्याएर आए पछि त्यसको कारवाही प्रक्रिया अघि बढाउनु पर्ने प्रहरीको दायित्व भएको बताउँछिन् । उनले प्रहरीका कारण पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्था आउन नहुने बताउँछिन् ।

प्रतिक्रिया
सम्बन्धित