बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘माउ’ मौन, ‘भगिनी’ सक्रिय

दैनिक नेपाल २०७६ माघ ९ गते ९:५३

काठमाडौं, ९ माघ । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूलाई चित्त दुखेको विषयमा ब्रिफिङ गरेको खबर बुधबार सार्वजनिक भएको थियो ।

कमजोर प्रतिपक्ष भएको भनी आलोचना र टिप्पणी बाह्य र आफ्नैबाट भएको गुनासो सहितको देउवाको ‘यार’ थेगो प्रचारमा आएको थियो ।

खबरमा आए जस्तै नेपाली कांग्रेसको भूमिका कमजोर नै देखिएका बेला उसको भगिनी संगठनले भने सरकारका कतिपय कामको विरोधमा कार्यक्रम गरिरहेका छन् ।

हुन त आफैंभित्र पनि संघर्ष गरिरहेको नेपाल विद्यार्थी संघले ‘माउ’ पार्टीको इज्जत धान्नकै लागि भए पनि सरकारले गरेका काम र विरोध भइरहेका विषयमा प्रदर्शन जारी राखेका छन् ।

अहिले चर्चामा रहेको ‘गोकर्ण रिसोर्ट भाडा प्रकरण’मा नेपाल विद्यार्थी संघको अगुवाईमा बुधबार विरोध भयो । गोकर्ण रिसोर्ट कौडिको मूल्यमा यति होल्डिङ्सलाई दिएको भन्दै नेवि संघले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल र नेवि संघ पूर्वमहामन्त्री कुन्दन काफ्लेसहितले विरोध गरेका थिए । र

नेता दीपकप्रसाद कुइकेललागयतले उक्त विरोध कार्यक्रममा सम्बोधन गरेका थिए । नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्ट र त्यस क्षेत्रको जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै वर्तमान सरकारले यति होल्डिङ्सलाई थप २५ वर्षका लागि दिएको भन्दै विरोध गर्नेमा नेवि संघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतले विरोध गरेका थिए ।

उनीहरूले यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष दिएर आलोचना गरे ।

नेवि संघ नेता त्रिपाठीले प्रधानमन्त्री ओलीले गरिब जनताको पेटमा लात हानेर यति होल्डिङ्स जस्ता साहुकारहरुको भुडी भरिरहेको आरोप लगाए ।

नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य जानुका पन्तको सभापतित्वमा सम्पन्न कोण सभामा नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ नेता गोपि शिवाकोटीलगायतले बोलेका थिए ।

यति होल्डिङ्लाई दिने सरकारी निर्णय खारेज नहुन्जेलसम्म नेविसंघले चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित