९ मंसिर २०८३, बुधबार

धादिङमा झडप हुँदा एक जनाकाे मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ९ माघ । धादिङ जिल्लाको खनियावास गाउँपालिका-४ दार्खा, घाम्सामा युवाहरुको समूहबीच झडप हुँदा एक युवाले ज्यान गुमाएका छन् ।

दुई-दुई जनाको समूहमा रहेका युवाहरूबीच व्यक्तिगत रिसिइवीमा झगडा हुँदा एक युवाको ज्यान गएको हो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार नेत्रावती डापजोङ गाउँपालिका-१ मार्पाकका राम तामाङ र रोशन तामाङ बसिरहेको स्थानीय एक होटलमा आएर दार्खा घाम्साकै स्थानीय शान्त तामाङ र रविन तामाङले झगडा गर्न शुरू गरेका थिए ।

सामान्य हात हालाहालबाट शुरू भएको झगडाले उग्र रुप लिएपछि खनियाबास-४ दार्खा घाम्साका शान्तको घटनास्थलमा नै मृत्यु भएको छ । अर्का स्थानीय रविन गम्भीर घाइते भएका छन् ।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तुहरूले प्रहार गर्दा शान्तको घटनास्थलमा नै मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

मृत्यु भएका तामाङ यसअघि नै कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजाय बिताएर निस्किएका व्यक्ति भएको बुझिएको छ ।

गम्भीर घाइतेलाई स्थानीयले उद्धार गरि उपचारको लागि तत्काल जिल्ला अस्पताल धादिङवेशी पठाएका थिए । उनको उपचार हुन नसकेपछि बुधबारनै थप उपचारको लागि काठमाडौं पठाइएको थियो ।

रविनको हाल ग्रिनसिटि अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कुटपिटमा संलग्न नेत्रावती डापजोङका राम तामाङ र रोशन तामाङले स्थानीय दार्खा प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनीहरूले आफूहरूलाई आक्रमण भएपछि प्रतिकार गर्दा शान्तको मृत्यु भएको बताएका छन् ।