३१ आश्विन २०८३, शनिबार

चीनसँगका ६ नाका व्यवस्थित गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुली, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ ।

मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिणले आयोजना गरेको मरिण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टले सोमबार मरिणका फाँटले नेपालको राजधानीमा अन्न पुर्याएको थियो तर आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र सङ्घीय सरकार अघि बढेको बताउनुभयो ।

“हिजो हामी अन्न विदेश निर्यात गर्थे आज भारतबाट वार्षिक रु ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौँ भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको छ भन्नुभयो ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा ‘आइसिपी पोर्ट’को उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तुहरु निर्यात गर्दै व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले उत्पादित वस्तुहरु सहजै तेस्रो मुलुकमा पठाउन सहज हुने बताउनुभयो । आजदेखि शुरु भएको महोत्सव यही माघ १८ गतेसम्म सञ्चालन हुनेछ । –रासस