शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रहरीकै मिलेमतोमा प्याज तस्करी, तस्करहरुबाट मासिक लाखौँ बुझ्छन् !

दैनिक नेपाल २०७६ माघ ५ गते ११:३६

भैरहवा, माघ ५ । बोराका बोरा प्याज नेपाल भित्रिन्छ । एउटै साइकलमा तीनवटा बोरासम्म राखेर ल्याउँछन् । लाइन लाएर प्याज भित्र्याउनेको संख्या अनगिन्ती छ ।

बच्चादेखि युवासम्म, महिलादेखि बृद्धसम्मको दैनिकी प्याज ओसार्नमै छ । मोटरसाइकलमा पनि उसैगरी प्याज ओसार्छन् । एउटा मोटरसाइकलमा ५ ओटा बोरासम्म ओसार्ने गरेका छन् ।

यो शब्दचित्र हो, रुपन्देहीकाे सीमा नाकाको । दिनहुँ खुलेआम अवैध प्याज नेपाल भित्रिँदा रोक्ने निकाय मौन छ । अहिले रुपन्देहीका हरेक नाकामा प्याज तस्करी हुने गरेको छ । प्रहरीसँगको मिलेमतोमा तस्करहरुले भारतीय बजार सुनौली, नौतनहवाबाट प्याज तस्करी गरेर नेपाल भित्र्याइरहेका छन् ।

यसरी चोरीपैठारी गरेर नेपाल प्याज भित्र्याउने तस्करीहरुसँग जिल्ला प्रहरी कार्यालयका घुमुवाहरुले मासिक असुल्ने गर्छन् । प्रहरी प्रमुख एसपी हेमकुमार थापासँगको मिलेमतोमा घुमुवाहरु प्याज तस्करीसँग मासिकी किस्ता बुझ्छन् ।

‘हामीले एकजना बराबर दिनको एक हजार रुपैयाँसम्म प्रहरीका घुमुवालाई बुझाउँछौं । कोहीले ५ सय पनि दिने गरेका छन्’, जिल्लाको सेमलपानी नाकामा शुक्रबार भारतबाट विना भन्सार प्याज तस्करी गरी नेपाल भित्र्याउँदै गरेका एक तस्करले भने ।

यो नाकाबाट मात्रै दैनिक डेढसय बढी तस्करहरुले विना भन्सार प्रहरीसँगको मिलेमतोमा प्याज नेपाल भित्र्याउँछन् । डेढ सयजनाबाट प्रहरीले दैनिक यही नाकाबाट मात्रै ७५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म असुल्ने गरेको छ ।

स्थानीयका अनुसार लाइन लागेर दिनहुँ खुलेआम तस्करी हुँदासमेत प्रहरी प्रशासन मौन बसेको छ । ‘घुमुवा प्रहरीहरु पैसा बुझ्नेबेला मात्रै आउने र अन्यबेला फर्केर नआउने स्थानियले बताए । खुलेआम यसरी राजश्व छल्दासमेत असुलीकै कारण प्रहरी मौन बसेको स्थानियको आरोप रहेको छ ।

अहिले धकधई, पजरकट्टी, बेलहिया, मेउडिहवा, एअरपोर्ट, लुम्बिनी क्षेत्रमा प्याज तस्करी भइरहेको छ । यी ठाउँबाट प्रहरीले दैनिक २ लाख बढी तस्करहरुसँग पैसा असुल्ने गरेको छ । यसका लागि एसपी थापाले प्रहरी जवान शंकरराज गिरीलाई खटाएका छन् । उनैले अहिले जिल्लाको हरेक तस्करीको सेटिङ मिलाउने गरेका छन् ।

दैनिक तस्करहरुसँग असुलगरि एसपी थापाकोमा रकम पुर्याउँछन् । उनी घुमुवाहरुमा एसपी सबैभन्दा विश्वासपात्र हुन् । यसरी अवैधरुपमा तस्करी गरि नेपाल भित्र्याइएको प्याज धकधई, गल्लामण्डी लगायतका ठाउँमा विक्री हुँदै आएको छ । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् ।

खुलेआम प्रहरीको मिलेमतोमै तस्करी हुँदा दैनिक लाखौं राजश्व गुमेको छ । ‘सीमित प्रहरी अधिकृतको स्वार्थले गर्दा राज्यलाई लाखौं राजश्व घाटा लागिरहेको छ । ‘प्रहरीकै मिलेमतोमा प्याज तस्कर हँदा राज्यलाई करोडौँ राजस्व घाटा हुने र यसमा सरकार र प्रहरी प्रशासनले ध्यान दिनुपर्छ’ भैरहवा भन्सार कार्यालयका एक अधिकृतले भने ।

पछिल्लो समय प्याज निकै महंगो भएको छ । भारतीय बजारमा प्रतिकिलो ५० भारतीय रुपैयाँमा पाइने प्याज नेपाली बजारमा १२० देखि १५० सम्म पर्छ । मूल्यको अन्तरकै कारण प्याज तस्करी भइरहेको छ ।

अवैध रुपमा भित्रिने प्याजले राजश्व त गुमेको छ नै मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै धमाधम तस्करीको प्याज नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्छामा पुग्छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

क्वारेन्टाइन कार्यालय भैरहवाका बिस्नु काफ्लेले विषादी परीक्षण नगरेको प्याजलगायत जुनसुकै तरकारी नाखान आग्रह गर्छन् । सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेरमात्रै आयात गर्ने नीति गत असारमै लागू गरेको हो । चेकजाँचका क्रममा आलु र प्याजमा सबैभन्दा बढी विषादी पाइएको थियो ।

भैरहवा भन्सार कार्यलयका प्रमुख कमल कुमार भट्टराई भने असोज यता भन्सारबाट प्याज नभित्रिएको दाबी गर्छन । यता, रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्री प्रहरीको मिलोमतोमा तस्करि नभएको दाबी गर्छन् । संस्थागत रुपमा त्यस्तो नभएको र कसैले व्यक्तिगत गरेको भए कारबाही हुने उनको भनाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित