सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बलात्कार आरोपी सिद्धबाबालाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै प्रदर्शन

दैनिक नेपाल २०७६ माघ २ गते १३:४०

काठमाडौं, २ माघ ।  आफ्नै अनुयायीमाथि बालात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्वबाबाविरुद्व उच्च अदालत उच्च अदालत विराटनगर अगाडि प्रर्दशन गरिएको छ ।

तीन लाख धरौटीमा रिहा भएका गिरीलाई थुनामै राखेर अनुसन्धान हुनुपर्ने भन्दै प्रदर्शन गरिएको हो । सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी छन्।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबामाथि सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि मुद्दा उच्च अदालत विराटनगरमा पुगेको छ। उच्चमा यही मुद्दाको पेसी बिहीबारका लागि तोकिएको थियो। मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यसअघि नै लगाउमा राखिसकेको छ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ।

उक्त निवेदन पुस १७ गते दर्ता गरेको उच्च अदालतले सबै व्यहोरा र विवरण खुलाएर १५ दिनभित्रमा सुरु मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्न जिल्ला अदालतलाई १८ गते आदेश दिएको थियो। उच्चको आदेशअनुसार जिल्लाले कैफियत प्रतिवेदन पठाइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित