शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

२१ करोड राजश्व छलेको आरोपमा मुद्दा

दैनिक नेपाल २०७६ पुष २५ गते ९:२६

काठमाडौँ, २५ पुस ।    झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाडाैँ महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ । मूल्य अभिवृद्धि करतर्फ छ करोड र आयकरतर्फ रु १५ करोड १७ लाख राजश्व चुहावट गरेको विभागको जिकिर छ । रासस

प्रतिक्रिया
सम्बन्धित