मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

इटहरी उपमहानगर : भ्रष्टाचार आरोपित इन्जिनियरको राजीनामामा ‘भाइरल’ मेयर किन मौन ?  

दैनिक नेपाल २०७६ पुष २३ गते ९:११

इटहरी, २३ पुस । भ्रष्टाचारीविरुद्ध कडा कदम चाल्ने र कालो मोसो समेत दल्ने भाषणबाजीका कारण चर्चामा आएका इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) द्वारिकलाल चौधरीले निर्देशन नदिएका कारण इन्जिनियर अर्जुन दाहालको राजीनामापत्र दर्ता हुन सकेको छैन ।

उप प्रमुख (उपमेयर) लक्ष्मी गौतमले काममा दबाब दिएकोलगायतका विविध विवरण राखी दाहालले राजीनामापत्र बुझाई विदामा बसेका थिए । उनको राजीनामापत्र दर्ता भएको छैन भने विदा सकिँदा पनि दाहाल काममा फर्किएका छैनन् ।

मेयरले राजीनामापत्र दर्ता गराई स्वीकृत गर्न निर्देशन दिएको एक मिनेटमा काम हुन्छ, अख्तियारलाई कारबाही गर्न पनि सजिलो हुन्छ, स्रोतले भन्यो,‘दाहाल दोषी या निर्दोष भएको छानबिनपछिको कुरा हो, उनले काम छाड्ने निधो गरी राजीनामा गरेकाले त्यो स्वीकृत गरी भ्रष्टाचारविरुद्धको विषयमा मेयरले आफूलाई प्रमाणित गर्नुपर्छ ।

दाहालले प्रमुख प्रशाशकीय अधिकृतलाई सम्बोधन गर्दै राजीनामापत्र यसै साता बुझाएका थिए । कतिपयले दाहालको उक्त कदम घुर्कीमात्र रहेको र उनी काममा फर्किने तयारीमा रहेको बताइएको छ । जबकि, दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको भनी उजुरी परिसकेको छ ।

भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा भाइरल भएका मेयरले अख्तियारमा उजुरी परिसकेका दाहालविरुद्ध कुनै कदम चालेका छैनन्, यहाँसम्मकी दिएको राजीनामापत्र स्वीकृत गरी छानबिन गर्न अख्तियारलाई पत्र समेत लेख्न सक्छन्, उपमहानगर स्रोतले भन्यो ।

१८ पुसमा दाहालले राजीनामा बुझाएर विदामा बसेका थिए ।

इटहरी उपमहानगरको भ्रष्टाचारका विषयमा सर्वसाधारणले पनि निक्कै चासो राखेका छन् । सामाजिक सञ्जालमा दाहालले उपमहानगरको भ्रष्टाचारकर्मको मुख्य भुमिका खेलेको भन्ने आशयमा सामाजिक सञ्जालमा स्थानीय तातेका छन् ।

राजीनामा गरेका इन्जिनियर दाहाल

एक जना सामाजिक कार्यकर्ता शान्ति गजमेर लेख्छिन्,‘अहिले इटहरी उपमहानगरपालिकामा के हुदैछ ? यो बिषयमा इटहरीका भ्रष्टाचार बिरोधी अभियन्ताहरू र महिलाहरूको ध्यान जान जरुरी छ ! नगरपालिकाका योजनाहरू कोटेशनमा सेटिङ गरि कमिसन खाने बानी परेकालाई कोटेसनमा काम रोक्न कडाइ गर्ने उपमेयर गलत हुन् ?

सुशासनसहितको उपमहानगर स्थापनाका लागि उपमेयर गौतमले कर्मचारीको घुस लिने काममा कडाई गरेपछि कतिपयले घुर्की देखाउने गरेको पनि बताइएको छ ।

गजमेर अगाडि लेख्छिन्,‘कानुनसम्मत् काम गर, कानुन मिचेर काम नगर्न कडाइ गर्ने उपमेयर गलत हुन्? भवन मापदण्ड  ले ५१० धुर जग्गा हुने गरिबले घर बनाउन पाएको छैन तर पैसावाला पावरवालालाई खोला पैनी सार्बजनिक जग्गा मिचेर निर्माण गर्ने र पास गरि दिने ?

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलसँग आर्थिक मिलोमतोमा दाहालले अनुमति दिएर सार्वजनिक खोलामाथि नै रिसोर्ट बनिसकेको सन्दर्भले विवाद उत्कर्षमा पुगेको थियो । गजमेरको संकेत त्यहि हो ।

इटहरी उपमहानगरपालिकाका मेयर चौधरी कर्मचारीको घुसिया बानी रहेकाले त्यस्तालाई कारबाही गर्ने चर्को स्वरका कारण नै भाइरल भएका थिए । केही कर्मचारीमाथि चौधरीले कारबाहीको डन्डा चलाउने कोशिश पनि गरेका थिए । तर शहरी विकास तथा पूर्वाधार शाखाका प्रमुख रहेका दाहालका विषयमा भने उनी मौन छन् ।

कतिपयले उपमेयरले पाएको जिम्मेवारीअनुसार ११ बजे कार्यालय आउने कर्मचारीमाथि स्पष्टिकरण, घुस लिएर नगरक्षेत्रभित्र सहर कुरुप बनाउने योजनाविरुद्ध बोल्दा रक्सी खाएर राती फोन गरी अनेकथरी भन्नेलगायतका काम भएको आशंका समेत गरेका छन् ।

दाहालको राजीनामा प्रकरणमा कतिपय वडाध्यक्षले पनि खासै बोलेका छैनन् । उपमहानगरमा हुने अनेक प्रकारका अवैधानिक सिफारिसलाई वैधता दिँदा जनप्रतिनिधिहरुलाई पनि दाहालले आर्थिक प्रभाव पारेको आरोप लाग्दै आइरहेको छ ।

पछिल्लो समय दाहाललाई भाटभटेनी सुपरमार्केटको भवन निर्माणमा कानुनविपरित अनुमति दिएको, पौडेलको फनपार्क निर्माण रोक्न परेको एक महिना अघिको उजुरीलाई थाँती राखी एक महिनापछिको उजुरी सदर गर्दा आर्थिक लाभ लिएकोलगायतका आरोप छन् ।

प्रतिक्रिया
सम्बन्धित