बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कर्णालीकै एक मात्र ‘स्मार्ट लेडी सिडिओ’का के छन् अनुभव ?

दैनिक नेपाल २०७६ पुष २० गते १०:३६

काठमाडौं, २० पुस । कर्णाली प्रदेशकै एक्ली महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन् दुर्गा बञ्जाडे । स्थानीय तहमा नागरिकको घर दैलोमा पगेर सेवा दिन सकिने सोच र राज्यको स्थायी संरचनामा काम गर्ने रहरले उनलाई निजामति सेवामा प्रवेशका लागि प्रेरित गरेको थियो ।

जुम्ला जिल्लाकी सिडिओ रहेकी बञ्जाडेले जनताको सेवा गरिरहेकी छन् । उनलाई कतिपयले स्मार्ट लेडि सिडिओ पनि मान्छन् । उनको काम गराईसँग धेरै प्रभावित छन् ।

निजामती सेवामा २०६८ सालमा शाखा अधिकृत भएकी उनी २०७४ सालमा उपसचिवमा बढुवा भइन् ।

‘पहिले मैले सिन्धुपाल्चोक जिल्लामा सहायक प्रजिअका रूपमा दुई वर्ष काम पनि गरेकी हुँ । जुम्लामा प्रजिअ भएको १० महिना भयो । प्रजिअका रूपमा रहँदा विभिन्न खाले चुनौती हुने नै भए । त्यसमा महिला र पुरुष प्रजिअले भोग्नुपर्ने चुनौती फरकफरक छन्’, उनले बीबीसी नेपालीसँगको कुराकानीमा भनेकी छन्,‘महिलाले हरेक पटक परीक्षा दिनुपर्ने अवस्था हुन्छ । तर त्यसलाई चुनौतीका रूपमा भन्दा मैले अवसरका रूपमा लिएकी छु ।’

महिला भएकै कारण विभेद नगरिएको भए पनि थोरबहुन महशुस हुने उनले बुझेकी छन् । ‘म कर्णाली प्रदेशमै पहिलो महिला प्रजिअ भएर आएकाले यस क्षेत्रका धेरैले मलाई हेरेर ममाथि भविष्य पनि देख्नुभयो । कतिपयले आफ्ना श्रीमती, छोरी, बुहारी वा भाञ्जीमा महिला प्रजिअको भविष्य पनि देख्नुभयो ।’

भविष्यमा निजामती सेवामा प्रवेश गर्न चाहने वा प्रजिअ बन्न चाहनेका लागि उनको केही सुझाव छ । भनेकी छन्,‘जो व्यक्ति जहाँ हुनुहुन्छ त्यहाँ पेशाप्रति इमानदार भएर काम गर्नुहोस् । म वर्गीकरणमा कहाँ पर्छु भन्ने भन्दा पनि चुनौती लिनुहोस्, अवसर तपाईँलाई पर्खिरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित