शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अख्तियारमा उजुरीपछि इटहरी उपमहानगरका इन्जिनियरको राजीनामाको राजनीतिक अर्थ

दैनिक नेपाल २०७६ पुष १९ गते १०:०९

इटहरी, १९ पुस । इटहरी उपमहानगरपालिकाका सहरी विकास तथा पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन दाहालको राजीनामाबारे नयाँ बहस सुरु भएको छ ।

प्रमुख प्रशाशकीय अधिकृतलाई दाहालले बुझाएको राजीनामापत्रमा उप–मेयर लक्ष्मी गौतमको दबाबका कारण काम गर्न नसकेको उल्लेख गरेका छन् ।

यतिमात्र होइन, विभिन्न कामको प्रष्टिकरण दिँदा दिँदै पनि गौतमले आफूलाई मुद्दा हाल्ने धम्की दिएको र अख्तियारमा मुद्दा समेत भइसकेको उनको राजीनामापत्रमा उल्लेख छ ।

त्यसो त उनको महाशाखाको जिम्मेवारी सहरका सडक विस्तारदेखि अन्य विकासका परियोजनासँग सम्बन्धित हुन्छ । अहिले इटहरीमा सडक विस्तारको विषयमा विवाद, संघर्ष र राजनीतिक अभियान पनि चलिरहेको छ ।

विवादको मुख्य कारण

कोसी राजमार्ग हुँदै चीनको किमान्थाङ्कासँग जोडिने सडक विस्तारको विषयमा इन्जिनियर दाहाल विवादमा तानिएको नेकपाका युवा नेता कार्यकर्ताको आरोप छ ।

८२ फिट दायाँबायाँ छाडी विस्तारको मापदण्डका आधारमा योजना कार्यालयले विराटनगरदेखि किमान्थाङ्कासम्म सडक विस्तार गरिरहेको थियो । तर इटहरीका सहरी क्षेत्रमा ६२ फिटमात्रको मापदण्ड कायम गराउनका निम्ति र भाटभटेनीलगायतका केही ठूला सपिङ मलसँग दाहालको आर्थिक सम्बन्धका कारण नियम मिचिएको कतिपयको ठम्याई छ ।

सडकका विषयमा आयोजना कार्यालयविरुद्ध अख्तियारमा छुट्टै उजुरी परिसकेको छ ।

तर दाहालको यो राजीनामाको अर्को चर्चाचाहिँ उनी नेकपा समर्थित कर्मचारी हुनु पनि रहेको छ । पार्टीप्रति झुकाव राख्ने कर्मचारी भए पनि विभिन्न प्रतिष्ठानको प्रभावका आधारमा सहरी क्षेत्रमा फरक मापदण्ड कायम गराउन भूमिका खेलेको आरोप लागेको छ ।

इटहरीका युवा नेता कार्यकर्ताको यो बुझाई र भावनालाई उप–मेयर गौतमले सुनेको र इन्जिनियर दाहाललाई बारम्बार दबाब दिएपछि उनको राजीनामा आएको बताइएको छ ।

‘उनको राजीनामाले राजनीतिक अर्थ पनि राखेको छ । दाहाल नेकपामा झुकाव राख्ने कर्मचारी भएका कारण नेकपाले नै नेतृत्व गरेको उपमहानगरमा राजीनामा किन दिन प¥यो भन्ने बहस भइरहेको छ’, युवा नेता कार्यकर्ता भन्छन्,‘राजीनामाका लागि उनलाई नैतिक दबाब हुनुको अर्को कारण अख्तियार दुरुपयो अनुसन्धान आयोगमा परेको उजुरी पनि हो ।’

सडक विस्तारको मापदण्डका विषयमा नेकपा सुनसरी सदस्य मदन चुडालको नेतृत्वमा बनेको संघर्ष समितिले पटक–पटक इटहरी उपमहानगरपालिका प्रमुख र उपप्रमुखलगायतका बैठकमा मापदण्डका विषयमा निर्णय गर्न दबाब दिएको थियो ।

इन्जिनियर दाहालले भने उक्त विषयलाई समाधान उन्मुख बनाउनुको साटो काममा नै ढिलाई गरेको, पत्राचार गरी सडक आयोजना कार्यालयलाई र्याखर्याख्ती नपारेको भन्ने पनि एउटा कारण र अर्थ हुनसक्ने बताइएको छ ।

०५२ सालदेखि इटहरी नगरपालिकामा इन्जिनियरका रुपमा काम गरेका दाहालले नियमविपरित काम गरी अकुत सम्पत्ति जोडेको भन्ने आरोप कतिपयले लगाउँदै आएका छन् । जनप्रतिनिधि नभएको समयमा नगरपालिकाका सबै कामकारबाहीमा दाहाल हावी भएको र आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित