बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बैतडीमा हिमपात, विद्युत् सेवा अवरुद्ध

दैनिक नेपाल २०७६ पुष १७ गते १५:३१

बैतडी, १७ पुस ।   मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो ।

यस वर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो ।

बुधबार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।

हिमपातले बाहिर निस्कनसमेत मुस्किल भएको सूर्नया गाउँपालिका–८ का वीरबहादुर बोहराले जानकारी दिए ।

हिमपातले चिसो बढेसँगै वस्तुभाउ स्याहारमासमेत समस्या भएको स्थानीयले बताएका छन् ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुसी भएका छन् ।

हिमपातले विभिन्न रोगकीरासमेत नस्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।

बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित