१० मंसिर २०८३, बिहिबार

ललितपुरभित्रको ‘कर्णाली’का सांसद सिलवाल

35.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । ललितपुर जिल्लामा रहेका तीन वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्रफलका हिसाबले ८० प्रतिशत भुगोलबासीको प्रतिनिधित्व गर्दै संघीय संसदमा उभिन्छन् नवराज सिलवाल ।

देशका विभिन्न क्षेत्रबाट आएका सांसदले उनले जनताका समस्या सुनाउँदा खिसिट्युरी पनि गर्दा हुन् । भन्दा हुन्– ललितपुरजस्तो जिल्लाको सांसदले यस्ता झिना मसिना समस्या सुनाउने हो ? यो त हामी बिकट जिल्लाका प्रतिनिधिका पनि साधारण समस्या हुन् !

जबसम्म उनको क्षेत्रको भ्रमण कसैले गर्दैन, त्यसै भन्नु अचम्मको कुरा हुँदैन । त्यसैले सिलवालले कतिपय अनौपचारिक कुराकानीका क्रममा साथीभाईले मानेको आश्चर्यपनलाई वास्ता गर्दैनन् ।

बागमती गाउँपालिका–७ मा भएको कृषि प्रदर्शनी उद्घाटनका क्रममा सांसद सिलवाल । कफिखेतीको सम्भावना रहेको उक्त क्षेत्रमा कफिको बोटको माला लगाएर उनलाई सर्वसाधारणले स्वागत गरेका थिए

सिलवालको क्षेत्रमा अक्करे भीरका बस्ती, गोरेटो जस्तो सडक, पहिरोले पिरोल्ने विविध बस्ती पर्छन् । सुविधायुक्त सहज शिक्षाको पहुँचबाट मात्र होइन, कृषि उत्पादनको सहज बजारीकरण, खानेपानीलगायतका आधारभूत समस्यासँग जुधिरहेका जनताबीच उभिन्छन्, सिलवाल । जसको समस्या समाधानका लागि दिनरात नभनी उनको दौडधुप चलिरहेको छ ।

ललितपुर जिल्लाको कर्णाली भन्दा फरक पर्दैन, उनको क्षेत्र ।

नेपाली कांग्रेसले निरन्तर भोट बैंक बनाएको उक्त क्षेत्रको प्रतिनिधिको जिम्मेवारी ०७४ सालको निर्वाचनमा सिलवाललाई दिए । कारण थियो– आधारभूत समस्या समेत सम्बोधन हुने आशा । यो आशालाई सिलवालले पूरा गराउनका निम्ति मिहेनत गरिरहेका छन् ।

भूकम्पमा क्षतिग्रस्त भएका विद्यालय, सडकको स्तरोन्नतीका लागि सिलवालले सरकारलाई निरन्तर घच्घच्याएर काम गरेका छन् । जनता खुशी देखिन्छन् । थप गुनासो पनि गर्छन् । स्वास्थ्यलगायतका क्षेत्रमा सरकारी वा गैर सरकारी संस्थासँग समन्वय गरी सुविधाका लागि सिलवालको पहल गज्जबको भेटियो ।

‘उहाँ आएपछि यो भवन बनेको छ । हामीले उचित स्वास्थ्य सेवा पाउँछौं भन्ने आश छ । पहिलाका सांसदले यसरी जनतासँग निरन्तर भेटेको देखिएन । उहाँ पनि सँधै यतै बसिदिए जस्तो लाग्छ’, महाँकाल गाउँपालिका हरिप्रसाद दाहाल भन्छन्,‘यो पहाडको बाटो, यहाँको विद्यालयमा काम भएका छन् । अझ राम्रो गर्न उहाँको सहयोग हुन्छ भन्ने छ ।’

गाडी चढेर सिलवालको निर्वाचन क्षेत्र सरसर्ती एक फन्को लगाउन एक दिन लाग्छ । राजनीतिक कार्यक्रम, सार्वजनिक कार्यक्रमलगायतमा सहभागी हुने भए दुई दिन माया मारेरै जानुपर्छ । तर, सिलवाल जनतामाझ जान खुशी लाग्नेमात्र होइन, उनका गुनासा एक एक गरेर सुनी संघीय संसदमा घचघच्याएर सुनाउने  कर्तव्यविमुख हुँदैनन् ।

‘पहिलाका सांसदहरूले समस्या समाधानका लागि पहल नगरेका कारण नै जनताले मलाई छानेको विषय विर्सियो भने कसरी जनप्रतिनिधि भइन्छ ?’, उनी भन्छन्,‘मेरो ड्युटी मेरा क्षेत्रका जनताका हरेक समस्या समाधानोन्मुख बनाउने हो । जसरी जिताएर पठाए, गाउँमा पस्दा इज्जत दिन्छन् त्यो मेरो अभिमान बन्यो भने म राजनीतिज्ञ हुन्न । त्यो मेरो कर्तव्य बन्नुपर्छ भन्ने सँधै हेक्का राखेको छु ।’

हुन पनि सिलवालले भने जस्तै त्यस क्षेत्रका जनताले उनलाई जे छ त्यसैले स्वागत गर्छन् । गाउँमा फुलेका फूलका माला, फूल नभए कफीका बोटकै माला पनि लगाइदिन्छन् । अनि, सुनाउँछन् आफ्ना पीर मर्का । समाधानको आशा राख्छन् ।

ललितपुर महाँकाल गाउँपालिकाको चुम्नीदेवीमा भूकम्प प्रतिरोधी भवनसहितको स्वास्थ्य चौकी उद्घाटनका क्रममा सांसद सिलवाल । भवन रेडक्रस ललितपुर शाखाले ब्रिटीस रेडक्रसको सहयोगमा निर्माण गरेको हो । एक करोड ७४ लाखमा भवन बनेको हो ।

‘जनताकाबीचमा उभिनु, उनका गुनासा र पीडा बुझ्नु । गरिएका कामको प्रभावकारीता भएको छ वा छैन भन्ने प्रत्यक्ष जानकारी लिनु नै मेरो जिम्मेवारी हो’, सिलवाल भन्छन्,‘यस्तो विकट ठाउँ छ कि राजधानीसँग जम्मा ५० किलोमिटरको दूरी भएका क्षेत्रलाई सुविधायुक्त सडक, खानेपानी, कृषि उत्पादनको बजारीकरणमा लागेको छु ।’

बागमती गाउँपालिकाकी एक जना कृषक महिलाले उनको मन नै अमिलो हुनेगरी आफ्नो पीडा पोखिन् । कृषि उपार्जनका लागि गोलभेडा खेती गरेकी ति महिला अहिले त्यसबाट बिमुख हुने तरखरमा रहिछन् । ११ सयको गोलभेडा काठमाडौं पठाएकी उनको हातमा एक रुपियाँ पनि परेन । लग्नेले भाडा नै त्यति परेपछि सकियो भन्ने उत्तर दिए, ति महिलाको मन खिन्न भयो ।

ति महिलाको समस्या सुनेपछि सिलवालले कृषि सामग्रीको बजार पुर्याउन र ढुवानीको समायोजनका विषयमा केही उपाय लगाउने तयारी गरेका छन् । ‘यो अवस्थालाई सुधार गर्नैपर्ने भएको छ । यति राम्रो र स्वच्छ उत्पादन हुन्छ यहाँ, कुनै ठूलो अपेक्षा छैन । तैपनि ढुवानीको जर्जरतामा कृषक रहेको पाएँ’, सिलवाल भन्छन्,‘समस्या समाधान गर्नका लागि मलगायत प्रदेश सांसद, स्थानीय सरकारले पनि समन्वय गर्नुपर्छ । त्यसका लागि छलफल चलाउने निधोमा पुगेको छु ।’

चारैतिर भीर, बागमती नदिले सीमा बनाएको मकवानपुरसम्मको सीमा जोडिएका क्षेत्रका बासिन्दाका लागि सिलवाल नै राज्यसम्मको पहुँचका प्रभावकारी सेतु हुन् । उनको क्षेत्रमा काठमाडौंमा बस्ने, घर बनाएका, ललितपुरका सुविधायुक्त ठाउँमा बसोबास गर्ने नेता सायदै घुमेका छन् । त्यहाँका सर्वसाधारणले न प्रधानमन्त्री भेट्ने आशा राख्छन् न मन्त्रीलाई गुनासो सुनाउने मौका मिल्छ । ति सबै–सबै विकल्प आफ्ना संघीय सांसद सिलवाल नै ठान्छन् ।