१३ कार्तिक २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश हुँदै खाडी जाने बढे, नाकाबाट २३९ जनाको उद्धार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, १०,  पुस । बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको उद्धार गरी पारिवारिक मिलनसमेत गराएको माइती नेपालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रोदेशमा जाँदा बेचबिखनको जोखिममा परेका र पर्नसक्ने सम्भावना रहेका महिला र बालबालिकाको उद्धार गरिएको हो ।

सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रोदेशमा हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।

बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो देश लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताउनुभयो ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो, ‘दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।’

भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय वेश्यालयमा पुगेको यथार्थ उहाँले सुनाउनुभयो । कञ्चनपुरको सीमानाकाबाट माइती नेपालले मुलुकका ४५ जिल्लाका महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

‘पहिलेको भन्दा अहिले सुदूरपश्चिममै बेचबेखिनको उच्च जोखिम बढेको छ’, संयोजक भट्टले भन्नुभयो,‘स्थानीय तहका जनप्रतिनिधिले पनि उमेर नपुगेकालाई रोजगारीका लागि देश बाहिर जान सिफारिस गर्दा नियन्त्रणमा चुनौती थपियो ।’

माइती नेपालले उद्धार गरेकामध्ये १५५ महिला तथा बालबालिका सुदूरपश्चिम प्रदेशका रहेको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिममा पनि कञ्चनपुर र कैलाली बेचबिखनको बढी खोजिममा रहेका छन् ।

‘भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडीका देश जान यो नाकाको प्रयोग बढी हुँदैछ’, उहाँले भन्नुभयो, ‘काठमाडौँमा बस चढाउने र दिल्लीमा ‘रिसिभ’ गर्ने क्रम बढेकाले सरकार पनि गम्भीर हुन जरुरी छ ।’

कञ्चनपुर खुला सीमानाका भएकाले पनि मानव बेचबिखनका दृष्टिले चुनौती रहेको बताउँदै उहाँले गड्डाचौकी र दोधारा चाँदनीको झोलुङ्गे पुलमा माइती नेपालले परामर्श केन्द्र राखेको जानकारी दिनुभयो । ‘वडाध्यक्ष नै काम गर्न जाँदैछ किन रोक्नुहुन्छ भनेर फोन गर्छन्’, उहाँले भन्नुभयो, ‘वडास्तरमा पनि जनचेतनामूलक कार्यक्रम गर्नु अतिआवश्यक छ ।’

सन् २०१९ मा माइती नेपालले भारतको जिवीरोडदेखि हल्द्धवानी, बरेली, पिथौरागढलगायतका शहरहरुबाट भारतीय सङ्घसंस्था र प्रहरीको सहयोगमा नौ महिलाको उद्धार गरेको माइती नेपालले जनाएको छ ।

‘बेचबिखन बढिरहेको भए पनि हामीले त्यसमा संलग्न एक जनाविरुद्ध मात्रै मुद्दा चलाउन सफल भयौँ’, भट्टले भन्नुभयो, ‘घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती हुन् ।’

त्यसैगरी माइती नेपालले बितेको एक वर्षमा भारत जाने तीन हजार ६८० सवारीसाधन गड्डाचौकीमा जाँच गर्नुका साथै सीमानाकामा झण्डै १४ हजार महिला तथा बालबालिकालाई परामर्श प्रदान गरेको छ ।

उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालीम दिएर आयमूलक काममा लगाउन पनि सहयोग गर्दै आएको माइती नेपालले दुई वर्षमा १८ महिलालाई काठमाडौँ लगेर सीपमूलक तालीमसमेत दिएको संयोजक भट्टले बताउनुभयो । रासस