
काठमाडौं, ९ पुस । ३३ किलो सुन गायब भएपछि सतहमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका पछिल्ला विवरण लुकाउन थालिएका छन् ।
गृह मन्त्रालयको समन्वयमा भएको अनुसन्धानको प्रगति विवरणबारे खासै चासो देखाइएको छैन भने यसलाई अन्तिम विन्दुमा पुर्याउन कुनै पनि चासो नदिइएको भेटिएको छ ।
झन्डै दुई बर्षअघिको यो प्रकरणले व्यापक चर्चा पाएको थियो । अनुसन्धान गर्नका लागि गृह मन्त्रालयका सहसचिव इश्वराज पौडेलको संयोजकत्वमा छानबिन समितिले धेरैलाई अनुसन्धानको घेरामा तान्नुपर्ने आरोपपत्रका आधारमा कारबाही अघि बढेको थियो ।
उक्त समिति अहिले भंग छ भने गृह मन्त्रालयले नै त्यसमा खासै चासो देखाएको छैन । यस प्रकरणमा काठमाडौंमा विभिन्न क्षेत्रमा लगानी गर्ने हाईप्रोफाइललाई समेत पक्राउ गरी केरकार गरिएको थियो ।
तर यस प्रकरणसँग सम्बन्धित मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे र एसएसपी श्याम खत्रीबाहेकले उन्मुक्ति पाउन थालेका छन् ।
‘यस्तो प्रकरणमा राजनीतिक पहुँचले पनि काम गर्छ । मुलुकको ध्यान अन्यत्र तानेर यो ठूलो विषयलाई गुमनाम बनाउने खेल हुनसक्छ’, गृहका एक अधिकारी भन्छन्,‘यहाँ अहिले यो विषयमा कुनै फाइलमा अध्ययन वा अनुसन्धानका विषयमा खासै कुराकानी समेत हुँदैन ।’
त्यसो त आरोपपत्र दायर गरिएको मोरङ जिल्ला अदालतमा तत्कालिन समयमा कार्यरत कतिपय न्यायाधीशको पनि सरुवा भइसकेको छ । कतिपयलाई कारबाही स्वरुप सरुवा गरिएको पनि चर्चा थियो ।
विमानस्थलबाट तीन बर्षमा तस्करी भएको साढे ३८ क्विन्टल सुनका लगानीकर्ता मध्येका एकजनाले अमेरिकामा व्यापार गर्न नेपालको सम्पत्ती बेच्न थालेको चर्चा थियो ।
विचौलिया लगाएर नेपालमा थुपारेको सम्पत्ती बेची अमेरिकाको न्युयोर्कलगायत क्यानडमा व्यापार थालेका छन् । लगानीको स्रोत देखाएर अमेरिकामा व्यापार गर्ने त्यहाँको सरकारले ग्रिनकार्ड दिनेमात्र होइन, नेपालले खोजी नै गरे पनि उनलाई सुरक्षामा राख्ने गर्दछ ।
तस्करीको सुनका दर्जन बढी लगानीकर्ता मध्येका बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीले बालुवाटारदेखि कपनसम्म रहेका आफ्ना चल अचल सम्पत्ति बेच्नका लागि पत्नीलाई नेपाल खटाएका थिए । पत्नीसहित उनी अमेरिका फरार थिए ।
भण्डारीविरूद्ध छानबिन विशेष समितिले मोरङ जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो । छानबिन टोलीले सुन तस्करीमा भण्डारीको संलग्नता पुष्टि गर्दै उनको स्वामित्वमा रहेका बाजेको सेकुवामा शिलबन्दी पनि गरेको थियो ।
भण्डारीले बाजेको ब्रान्ड अमेरिकाको न्युयोर्कमा खोलीसकेका छन् । पत्नी निकिता भण्डारीका नाममा रहेका नेपालका सबै सम्पत्ती बेच्न थालिएको छ ।
तस्करीको सुनमा लगानी गरेको भनि अभियोग लागेपछि अमेरिका भासिएका भण्डारीले पत्नीलाई नेपालमा खटाएर कानुनी रुपमा बाजेका सेकुवा खोल्ने चालमा जीत हात पारे । अन्य कतिपय अचल सम्पत्ति बिक्रि समेत गरिसकेको उच्च स्रोतले दाबी गरेको छ ।
त्यसो त उप्रेतीलाई जेल हालेपछि यस प्रकरणमा मुछिएका प्रहरीदेखि बिमानस्थलका कर्मचारी पनि भटाभट बाहिर निस्कन थालेका छन् । अदालतमा सेटिङ गरी कोही धरौटीमा त कोही निर्दोष बन्दै निस्किन थालेका छन् ।
शाक्य हत्या र सुन प्रकरणमा मिलोमतो रहेको भनी पूर्पक्षका लागि थुनामा राखी अनुसन्धान गरिएका प्रहरी अधिकारीहरू सबै काममा फर्किएका छन् । यस प्रकरणमा उनीहरूको संलग्नता नदेखिएको भन्ने अदालतको ठहर थियो ।















प्रतिक्रिया