
काठमाडौं, २६ मंसिर । प्रहरी कर्मचारीलाई नै यौन शोषण गरेको र धम्की दिएको उजुरी परेपछि संघीय प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) शौरभशमशेर राणाका कष्टका दिन सुरु भएको छ ।
प्रहरी अधिकृत हुँदादेखि नै ‘मस्तराम’ भएर हिँड्ने राणालाई आफ्नै आनीबानीले अप्ठ्यारोमा पारेको हो । युवती, विवादीत व्यक्तिसँगको निरन्तरको सम्बन्ध रहेको भन्ने उजुरी प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयमा समेत परेपछि उनीमाथि विभागीय छानबिन सुरु भएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयले यौन दुराचारका विषयमा छानबिन गर्नका लागि पत्राचार गरेपछि राणामाथि छानबिन सुरु भएको हो । ‘एसएसपीले कस्तो प्रकारका गल्ती गरेका हुन् छानबिनपछि पत्तो लाग्नेछ’, स्रोतले भन्यो,‘अभियोग पुष्टि भएको खण्डमा उनलाई डिमोशन अथवा सेवाबाट बर्खास्त समेत गर्न सकिन्छ ।’
आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै पीडित महिलाले राणाविरुद्ध २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । राणा इटहरीमा ट्राफिक प्रहरी प्रमुख हुँदादेखि ति महिलाको सम्बन्ध बनेको थियो । सोही क्रममा राणासँग विवाद भएपछि गोली हानेर मारिदिने भनेर धम्की दिएको महिलाले गृहमा दिएको उजुरीमा उल्लेख छ ।
एसपी हुँदादेखि नै उनले असइ प्रमोद यादवलाई परिचालन गरी पैसा उठाउने गरेकोसमेत औँल्याइएको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले अनुसन्धान जारी राखेको बताइएको छ ।















प्रतिक्रिया