
काठमाडौं, २२ मंसिर । नेकपा सचिवालय सदस्य उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नीजि निवासबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको संयुक्त तस्बिर सार्वजनिक भएपछि नयाँ राजनीतिक वृत्तमा तरङ्ग छायो ।
त्यसको केही समयअघि विभागीय जिम्मेवारी र सैद्धान्तिक लाइनका विषयमा मञ्चमा नै घोचपेच गरेका प्रभावशाली अध्यक्ष र नेताको संयुक्त तस्बिरले धमिलो पानीमा तर्क गरिरहेका कतिपय नेकपा नेताहरू नै अचम्मित भए ।
नेकपाको राजनीतिक यात्रामा प्रचण्ड–पोखरेलको नयाँ राजनीतिक इनिङ यहिँबाट सुरु भएको थियो । पार्टी एक भइसकेपछि नेताहरूबीचको सहकार्य र परामर्श अनिवार्य रहेको र सतहमा देखिएका कतिपय भ्रमलाई चिरेर जाने सहमति पोखरेलले दिएको ‘लन्च’का क्रममा भएको थियो ।
यसको असरचाहिँ केही समयपछि भएको सचिवालय बैठकको निर्णयका क्रममा भयो । जहाँ प्रचण्डलाई औपचारिक रुपमा नै कार्यकारी अध्यक्षको अधिकार दिएको उल्लेख गरियो ।
अघिल्लो सोमबार प्रचण्डले सचिवालय बैठक डाकेका थिए । त्यसबेला पोखरेल इलामको कार्यक्रममा सहभागी हुन पुगेका थिए, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा उपचारका क्रममा थिए । सो बैठक पोखरेल र प्रचण्डको परामर्शका आधारमा नै डाकिएको थियो । केही निर्णय भए, बाँकी सोमबारको बैठकमा हुनेछन् ।
सोमबार (भोली) प्रचण्डले डाकेको सचिवालय बैठकमा पोखरेल पनि उपस्थित हुनेछन् । आइतबार प्रचण्डनिवास खुमलटारमा बैठकका एजेन्डाका विषयमा पनि छलफल भएको छ । पोखरेलसँग उक्त विषयमा परामर्श भइसकेको स्रोतले जनायो ।
‘नेकपा बनिसकेपछि पूर्वएमाले र पूर्वमाओवादी होइन, एउटा पार्टी हो भन्ने सन्देशका लागि पनि प्रचण्ड–पोखरेलको यो गैरसंकास्पद सम्बन्ध तल्लो तहसम्म देखिनु जरुरी थियो’, एक नेता भन्छन्,‘पार्टीमा कुनै गुट र समिकरणभन्दा जिम्मेवारी महत्वको हो भन्ने बुझ्नुपर्छ ।’
विभागीय जिम्मेवारी बाँडफाँट अघि प्रचण्ड र पोखरेलबीच मञ्चमा नै घोचपेच भएको थियो । प्रचण्डकै भाषामा राजनीति भनेको सम्भावनाको खेल हो । यो खेलको नयाँ इनिङ प्रचण्ड–पोखरेलको राजनीतिक परामर्शको पृष्ठभूमीले देखाउन थालेको छ ।
प्रचण्डले नेकपाको राजनीतिक सैद्धान्तिक विचारधारा जनताको जनवाद भन्ने व्याख्या गरे जहाँ पोखरेल मदन भण्डारीको जनताको बहुदलीय जनवादको मातृ सिद्धान्त मास्न नसकिने तर्कमा उभिए । यी दुवैको समायोजना गर्दै प्रचण्डले जनताको जनवाद भनेकै जनताको बहुदलीय जनवादको छायाँ भनेर व्याख्या गरिदिए ।
‘संविधानमा सहमतिका साथ समाजवादमा उन्मुख हुने कुरा छ । त्यो नेकपाको वैचारिक एकताले मात्र सम्भव हुन्छ । त्यसमा विवाद र खोट देखिनु हुँदैन भन्नेमा नेताहरू विश्वस्त हुनुहुन्छ’, ति नेताले भने,‘यसैले अहिले पनि समिकरणको कुरा गरी पार्टीभित्र नेताका एकमत छैन भन्ने हल्ला गर्नु बेकार हो ।’
प्रचण्ड–पोखरेल सम्बन्धिको इतिचाहिँ बिराटनगरमा नेकपा मोरङले गरेको चियापान कार्यक्रममा पनि देखिएको थियो । दुवै नेताले एउटै मञ्चमा उभिएर नेकपाको अग्रगति र अबको कार्यदिशाबारे एकमतको विचार पनि राखेका थिए ।















प्रतिक्रिया