५ कार्तिक २०८३, बिहिबार

कार्यकारी भूमिकापछि प्रचण्ड झन् सक्रिय : देशव्यापी अभियान थालिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ मंसिर । पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन।

एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म आउन नसकेकाले पार्टी नेताहरूले अध्यक्ष प्रचण्डलाई तत्काल देशव्यापीरूपमा अभियान घोषणा गर्न दबाब दिन थालेका छन्।

कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सचिवालय बैठक बोलाउनुभएको थियो। अब स्थायी र केन्द्र्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए।

उनका अनुसार पार्टीलाई अझै बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गरिनेछ।नेकपाका नेता भीम रावलले एक वर्षअघि बसेको स्थायी समिति बैठकले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केन्द्रबाट निर्णय त भयो तर कार्यान्वयनमा आउन निकै ढिलासुस्ती भयो, अझै एकीकृतरूपमा अभियान सञ्चालन हुन सकेको छैन।

विधि र प्रणालीभन्दा पनि संगठन परिचालनको कामलाई सीमित दायराभित्र राख्ने काम भयो।’पार्टीले एकताको सन्देशसहित राष्ट्रियस्तरमा एकीकृतरूपमा अभियान सञ्चालन र भेला–प्रशिक्षण गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै थप्नुभयो– ‘पार्टीलाई सक्रिय र गतिशील बनाउन अभियानको खाँचो हुन्छ, पार्टी सदस्यता र नयाँ सदस्यता वितरण गर्न नसक्दा ठूलो व्यवधान उत्पन्न भएको छ।’

हुन पनि नेकपाको केन्द्रमा अहिलेसम्म सांगठनिक एकताको गाँठो फुके पनि स्थानीय किमिटीको एकताको गाँठो फुक्न सकेको छैन। पार्टीभित्र आन्तरिक गुटबन्दीका कारण स्थानीय कमिटीको एकता प्रक्रियाले गति लिन सकेको छैन। तीन नम्बर प्रदेशको काभ्रेलगायतका जिल्लाका स्थानीय कमिटीहरूको एकताले पूर्णता पाउनसकेको छैन। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।