५ कार्तिक २०८३, बिहिबार

चेलीले चम्काएको साग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्।

सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकन्डले उछिन्दै स्वर्ण हात पारेकी थिइन्। सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ०७.९४ सेकेन्ड र कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेका थिए। ‘पहिलो सहभागितामै स्वर्ण पदक जित्छु भन्ने लागेको थिएन’, आफ्नो जितपछि २६ वर्षीया सन्तोषीले भनिन्, ‘कुनै न कुनै पदक जित्ने विश्वास भने थियो।’

ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो। त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यति बेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

गौरिका पनि नेपाली खेलकुदकी ऐतिहासिक खेलाडी बन्न पुगिन्। उनले यो सागमा दुई स्वर्ण जितेकी छन्। स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीं विदेशी भनेकोमा चित्त दुखाइन्। ‘म नेपाली नै हो। म आफूलाई नेपाली भन्न रुचाउँछु’, उनले भनिन्, ‘यो पदक सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु। देशका लागि ऐतिहासिक स्वर्ण जित्न पाउँदा धन्य भएँ।’

नेपाली सञ्जु चौधरीले पनि भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन्। पोखरामा जारी भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्। उनले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी तौल उचालिन्। यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।