५ कार्तिक २०८३, बिहिबार

कबाडी पेस्तोलले खेलाडीलाई धोका, बीचमै खेल छाड्नु पर्‍याे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २१ मंसिर । निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्।

६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन। बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो। तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो।

फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो। अनि उनको मनमा पनि सन्नाटा छायो।

खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन्। उनी हतियारबाट छोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन्। अन्य देशका खेलाडी सुट गरिहेका थिए। उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन्।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे। फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुप-यो।

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो। निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट परीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गोली प्रहार गर्न निर्देशन दिए।

तर उनीसँग हतियार भएन। सहभागी अन्य राष्ट्रका खेलाडीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको विवरण नपुगेको भन्दै प्रयोग गर्न नपाउने जनाए ।

यसपछि नेपालकै २५ मिटर -यापिड फायर पेस्तोलमा भिड्ने विपेशले आफ्नो पेस्तोलको विवरण बुझाएपछि जुरीले श्रेयाको समय सुरु गरे। अब श्रेयाले ७ मिनेटमा १४ गोली प्रहार गर्नुपर्ने भयो, त्यो पनि २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा खेल्नुपर्ने चुनौतीबीच। नागरिक दैनिकले खबर छापेकाे छ ।