५ कार्तिक २०८३, बिहिबार

सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ। सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन्। प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ। दुई स्काई ट्रक चाँडै काठमाडांै आइपुग्ने उनले बताए।

‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो। नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ’, एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक मन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने, ‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ। त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायत छन्।’

उनका अनुसार अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। बलियो नेपाल अमेरिकी चाहना रहेको उनको धारणा थियो। अमेरिकाले २५ वर्षदेखि ८० भन्दा बढी मुलुकसँग उक्त कार्यक्रमअन्तर्गत मानवीय सेवा, प्रकोप व्यवस्थापनमा सहकार्य गरिरहेको छ। यसमा नेपालसँग पनि सहकार्य गर्ने उनले जनाएका हुन्।

इन्डो प्यासिफिक (आईपी) नीतिअन्तर्गत पनि यस्तो सहकार्य हुन सक्ने उनले बताए। ‘इन्डो प्यासिफिक अमेरिकाको आफ्नै नीति हो, रणनीति होइन। यो विधिको शासनसँग सम्बन्धित छ’, उनले भने, ‘कुनै मुलुक हस्ताक्षर गरेर सहभागी हुने भन्ने छैन, यो खुला छ। साना मुलुक ठूलाबाट मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव नभएकाले यसमै यो विषय केन्द्रित छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।