बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेकपामा सांगठनिक सुस्तता : तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी एक वर्षमा बसेन

दैनिक नेपाल २०७६ कार्तिक २८ गते ६:४७

काठमाडौं, २८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।

पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।

पार्टीको विधानअनुसार ६/६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।

यसैगरी, तीन/तीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन । नेकपाको अन्तरिम विधानमा तीन/तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ ।

गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन । स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् ।

स्थायी समिति सदस्य घनश्याम भुसालले बैठक नबसेकाले पार्टी लथालिंग भएको बताए । ‘हामीले पार्टी चलाएकै छैनौं । पार्टी लथालिंग छ,’ उनले भने, ‘पार्टीभित्र अन्योल बढेको छ भने दुई तिहाइको सरकारलाई जनतामा स्थापित गर्न सकिएको छैन ।’

उनले अब त स्थायी समितिको बैठक बोलाउने माग गर्नु पनि लज्जाको विषय बनेको बताए । यति धेरै माग हुँदा पनि बैठक नराख्नु उदेकको दृढता भएको उनले बताए । पार्टी लथालिंग हुनुमा सचिवालयसमेत जिम्मेवार रहेको उनी बताउँछन् ।

‘चाहिएको बेलामा सचिवालय बसेको छ । तर, कसैले पनि स्थायी समितिका लागि पहल गरेको छैन,’ उनले भने, ‘पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्न नसक्दा तत्कालका लागि सचिवालयलाई अधिकार दिइएको हो । तर, सचिवालयलाई दिइएको जिम्मेवारी पूरा गर्न उहाँहरू असफल हुनुभयो ।’

नेकपाको पोलिटब्युरो, स्थायी समिति र केन्द्रिय समितिले गर्नुपर्ने सबै निर्णयहरू सचिवालय बैठकले गर्दै आएको छ । यसरी पार्टीका अन्य संरचनाले गर्नुपर्ने निर्णयहरू सचिवालयले नै गर्दा पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्यहरू पार्टीको निर्णयमा आफ्नो सहभागिता नभएकोप्रति रुष्ट बनिरहेका छन् ।

सोमबार मात्रै नेकपा सचिवालय बैठक बसेको थियो । बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय सल्लाहकार समिति, ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष तथा सचिवको चयन गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ।

प्रतिक्रिया
सम्बन्धित