बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ?

दैनिक नेपाल २०७६ कार्तिक २५ गते ७:३५

काठमाडौैं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक संयन्त्र पनि सशक्त बन्न सकेको छैन ।

त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्रले पनि आक्रामक रूपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् । उनको सुझावअनुसार सबै सल्लाहकारले यही १ मंसिरदेखि लागू हुने गरी राजीनामा बुझाइसकेका छन् ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य, सल्लाहकार टिम मात्रै होइन, सबै मन्त्रालयका मन्त्री, सचिव तथा सिंगो प्रशासनयन्त्रले प्रभावकारी रूपमा काम नगर्दा प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुनेमा आशंका सिर्जना हुँदै आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रशासन संयन्त्रमार्फत हुने गरेको अनुगमन, नियन्त्रण र व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले प्रशासनसंयन्त्रलाई नै चुस्त, सशक्त बनाउने र काम नगर्ने प्रशासक तथा कर्मचारीलाई कारबाही गर्ने पद्धतिको विकास गर्नुपर्ने प्रशासनविद्को सुझाव छ ।

पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रिताल कार्यक्षमताभन्दा राजनीतिक निकटताको आधारमा जिम्मेवारी दिने परम्पराका कारण प्रशासन संयन्त्र सशक्त बन्न नसकेको बताउँछन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित