बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

दैनिक नेपाल २०७६ कार्तिक २२ गते ६:५७

काठमाडौं, २२ कात्तिक । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ ।

विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ ।

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।

विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।

विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो ।

विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६/७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।

विभागको अभिलेखअनुसार सन् १९७८ मा नै काठमाडौं उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लागेको थियो । सो अध्ययन अनुसन्धान जापानी सहयोग निकाय (जाइका)को सहयोगमा विभागले गरेको थियो ।

विभागको अभिलेखअनुसार जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो ।

सो अध्ययन प्रतिवेदनमा मिथेन ग्याँस उत्पादन गर्न सकिने भन्दै उत्खननको सिफारिससमेत गरिएको थियो । सो अध्ययन प्रतिवेदनमा उपत्यकामा विभिन्न १४ स्थान ग्याँस छ भन्ने तथ्य सर्वजनिक गरेको भए पनि नेपाल सरकारले उत्खनन गरेर प्रयोगमा भने ल्याउन सकेन ।

श्रेष्ठले नेपाल सरकारसँग स्रोत साधन नहुँदा उपत्यकामा भएको मिथेन ग्याँस उत्खनन गर्न नसकेको बताए । जमिनको सतहमुनि रहेको मिथेन ग्याँस उत्खनन गर्न ठूलो लगानी, आधुनिक प्रविधिको आवश्यक पर्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित